एजेन्सी । ब्राजिली स्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने आफ्नो कुनै सोच नभएको बताएका छन् ।
नेयमारले वर्तमान अवस्थामा आफ्नो कलब छाड्ने कुनै सोच नभएको बताएका हुन् ।
पीएसजीका अध्यक्ष नासिर अल खालिफाले नेयमार र केलियन एम्बाप्पेसंग नयाँ सम्झौताको बिषयमा छलफल अघि बढेको उल्लेख गर्दै दुवै खेलाडी पेरिसमा बस्ने विश्वास ब्यक्त गरेका थिए ।
नेयमार र एम्बाप्पेले बुधबार राति ईस्तानबुल बासाकेशिरविरुद्ध ५–१ को प्राप्त जितमा गोल गरेका थिए ।

मंगलबार रातिको खेल स्थगित बनेको थियो । दुवै टिमले खेलाडीले क्लबका पदाधिकारीलाई म्याच अफिसियलले रंगभेदी ब्यवहार गरेको भन्दै मैदान छाडेका थिए ।
नेयमारको ह्याट्रिकको सहयोगमा च्याम्पियन्स लिगको समूह एचमा पीएसजी समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो ।
नेयमार च्याम्पियन्स लिग ईतिहासमा दुई फरक क्लबबाट २० गोल पुरा गर्ने पहिलो खेलाडी बने ।
एम्बाप्पेले समेत बुधबार राति कीर्तिमानी गोल गरे । उनी च्याम्पियन्स लिगमा २० गोल पुरा गर्ने सबैभन्दा युवा खेलाडी बने । उनले लियोनल मेस्सीको कीर्तिमान भंग गरेका हुन् ।
नेयमार सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी २ सय २२ मिलियन युरोमा पीएसजी आएका थिए । उनी लगातार क्याम्प नाउ फर्कने विषय चर्चामा छ । तर बार्सिलोना अहिले वित्तिय संकटबाट गुज्रिरहेको छ । सोही कारण नेयमार बार्सिलोना फर्कने सम्भावना कम हुँदै गएको छ ।

२८ वर्षिया फरवार्डको पीएसजीसंगको सम्झौता अर्को सिजनको अन्तिममा सकिदैछ । तर ईस्तानबुल टिमसंगको खेलपछि नेयमारले लामो समय पेरिसमा भविष्य रहेको संकेत गरेका छन् ।
‘म पेरिसमा धेरै खुसी छु । म क्लबमा खुसी छु । टिमका साथीसंग पनि खुसी छु ।’ नेयमारले भनेका छन् ।
‘क्लब छाड्ने सोच मसंग छैन । हामीले सम्झौताको विषय छलफल गर्नछ । हाम्रो निकै राम्रो सम्बन्ध छ । म धेरै खुसी छु । हेरौ भविष्यमा के हुन्छ ।’ नेयमारले भनेका छन् ।
क्लब अध्यक्ष खालिफाले पीएसजीले एम्बाप्पेसंग समेत छलफल गरेको बताएका छन् । एम्बाप्पेको सम्झौता समेत सन् २०२२ मा सकिदैछ । दुवै खेलाडी लिग वान च्याम्पियनसंग बस्न राजी हुने क्लबको विश्वास छ ।
‘हामीले नेयमार र एम्बाप्पेसंग छलफल अघि बढाएका छौ ।’ अल खालिफाले भने ।
‘छलफल गोप्य रहनेछ । तर म निकै विश्वासी छु । दुवै हामीसंग बस्न चाहन्छन् ।’ उनले भने ।