एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज साविक विजेता लिभरपुलले उल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले घरेलु मैदानमा उल्भ्ससँग खेल्नेछ । लिभरपुल र उल्भ्सबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लिभरपुल उल्भ्सविरुद्ध सहज जितको खोजीमा हुनेछ ।
लिभरपुल उल्भ्सलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा समेत हुनेछ ।
लिभरपुल २१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । उल्भ्सलाई हराउँन सके लिभरपुल शीर्ष स्थानमा उक्लनेछ ।
तर, बलियो टिम उल्भ्सविरुद्ध लिभरपुललाई सहज भने हुने छैन । उल्भ्स पनि लिभरपुललाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।
उल्भ्स १७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
तर, लिभरपुलविरुद्ध उल्भ्सका मुख्य फरवार्ड राउल जेमिनेजले खेल्ने छैनन ।
टाउको हड्डीको शल्यक्रिया गरेपछि उनी आराम गरिरहेका छन् ।
यता, लिभरपुलका भने केहि खेलाडी मैदान फर्कने सम्भावना रहेको छ ।
लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र मिडफिल्डर नेबि केईटाले खेल्ने सम्भावना रहेको छ ।
यस्तै प्रिमियर लिगकै अर्को खेलमा क्रिस्टल प्यालेस र वेस्ट ब्रुमबीच खेल हुनेछ ।