एजेन्सी । स्पेनिस ला लिगा फुटबल लेभान्टेले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा लेभान्टेले गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको गेटाफेविरुद्ध पाँचौं मिनेटमा रोजरको गोलबाट लेभान्टेले अग्रता बनाएको थियो ।
खेलको सातौं मिनेटमा रोड्रिगेज बेनिटोले रातो कार्ड पाएपछि गेटाफे १० खेलाडीमा समेटियो ।
खेलको १७ औं मिनेटमा ड्यानिल गोमेजले गोल गर्दै लेभान्टेलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा जोर्गे डी फ्रुटोसले गोल गर्दै लेभान्टेलाई ३-० को जित दिलाए ।
यस्तै खेलको ७७ औं मिनेटमा डीजेन डाकोनामले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा गेटाफे ९ खेलाडीमा समेटिएको थियो ।
जितसँगै लेभान्टेले ११ खेलमा ११ अंक जोडेको छ । लेभान्टे १७ औं स्थानमा रहेको छ ।
गेटाफे १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।