नेपालगन्ज । बाँके जिल्ला फुटबल संघले आफ्नो मातहतमा रहेका क्लबहरुलाई फुटबल खेल सामग्री प्रदान गरेको छ ।
संघले शनिबार आयोजित एक कार्यक्रममा खेल सामग्री हस्तान्तरण गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा ११ क्लबहरुलाई ४/४ वटा फुटबल बल हस्तान्तरण गरिएको हो ।
ग्रासरुट फुटबल एकेडेमीमा भएको कार्यक्रममा एन्फाका पूर्व उपाध्यक्ष सम्झना, आयोजक बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाही, उपाध्यक्ष नगिना श्रेष्ठ, सचिव गोविन्द प्रसाद श्रेष्ठ तथा तरुण दल बाँकेका सचिव बिनोद रिजालले क्लबका प्रतिनिधिलाई फुटबल हस्तान्त्रण गरेका थिए ।
कार्यक्रममा बोल्दै एन्फाका पूर्व उपाध्यक्ष सम्झनाले पश्चिम नेपालको फुटबलको विकास लागि नेतृत्व तहमा भएका ब्यक्ति र स्थानीय क्लबले अब सक्रिय भएर काम गर्नु पर्ने बताएका छन ।
‘जिल्ला संघले क्लबलाई फुटबल दिनु सकारात्मक कुरा हो । यसले अब फुटबल गतिविधि सुरु भएको छ भन्ने सन्देश दिएको छ । फुटबललाई सक्रिय बनाउन अब सबै क्लब, संघका पदाधिकारीले मिहिनेत गर्न जरुरी छ,’ उनले भने ।
यस्तै नेपालको पश्चिम क्षेत्र फुटबल स्तर र राजनितिक रुपमा पनि पछि परेको बताउँदै उपाध्यक्ष सम्झनाले अब संघको नेतृत्वले यस क्षेत्रको फुटबलको विकासका लागि धेरै मिहिनेत गर्न आवश्यक देखिएको बताए ।
‘विगतमा भेरी च्यालेन्ज कप यहाँको चर्चित प्रतियोगिता थियो । यसले धेरै उत्कृष्ट खेलाडी जन्माएको थियो । तर पछिल्ला वर्ष हामी कमजोर देखिएको छौं । हामीसँग एउटा गोल्डकप फुटबल बाहेक अन्य राम्रा प्रतियोगिता छैनन । संघले मात्र एक्लै गरेर केहि हुदैन । स्रोत साधन भएका क्लबले व्यवस्थापनलाई बलियो बनाएर स्तरीय प्रतियोगिता गर्ने प्रयास गर्नुपर्छ,’ उनले थपे ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले कोरोनाको संकटका बिच बाँकेमा अब फुटबलले गतिले लिने बताए । संघले बाँकेमा फुटबलको विकासका लागि हरेक क्लब र खेलकर्मीसँग सहकार्य गरेर अगाडी बढने उनले बताए ।
‘अहिले विश्वले संकटको सामना गरेको छ । यस्तो बेला फुटबलले जनतामा एउटा खुसी हुने वातावरण सृजना गर्न सक्छ । हामी फुटबलको माध्यमबाट समाजमा एउटा हौसला, नयाँ उत्साह जगाउने प्रयास गर्नेछौं,’ शाहीले भने।
जिल्लामा हुने फुटबलका हरेक गतिविधिमा संघले प्राविधिक सहयोग गर्ने शाहीले बताए । पछिल्लो समय बाँकेमा फुटबलको पुर्वाधार निर्माण हुदै गएकोले भविष्यमा यसले थप राम्रो प्रभाव पार्ने उनले बताए ।