एजेन्सी । नापोलीले क्लबको रंगशालालाई क्लबका लिजेन्ड डिएगो म्यारोडोनाको नाममा नामाकरण गरेको छ ।
अर्जेन्टिनाका आक्रमक मिडफिल्डर तथा प्रशिक्षक म्यारोडोनाको निधनपछि क्लबले उनको नाममा रंगशालाको नामाकरण गरेको हो ।
म्यारोडोनाको गत महिनामात्र ६० वर्षको उमेरमा ह्दयघाटका कारण निधन भएको थियो । उनले सिरि ए क्लबलाई सन् १९८७ र १९९० मा शीर्ष डिभिजनको लिग जिताएका थिए ।
नापोली नगर परिषदको प्रस्तावलाई स्विकृति प्राप्त हुने बित्तिकै सान पाउलो रंगशालालाई डिएगो अर्मान्डो म्यारोडोनाको नाममा रुपान्तरिक हुनेछ ।

नापोलीका मालिक औरिलियो डी लौरेनिटसले म्यारोडोनाको निधनपछि एक खुल्ला पत्रमा रंगशालाको नाम बदल्ने प्रस्ताव गरेका थिए ।
नेपल्सका मेयर लुइगी डी मेजिस्ट्रिसले समेत यस विचारको समर्थन गरेका थिए ।
म्यारोडोनाले नापोलीमा ७ वर्ष बिताएका थिए । उनी सन् १९८४ मा बार्सिलोनाबाट नापोली आएका थिए । उनले ईटालीबाट सन् १९८७ मा कोपा इटालिया र सन् १९८९ मा यूईएफए कप जितेका थिए ।

म्यारोडोनाको निधनपछि उनका समर्थकहरु रंगशालामा आएर श्रद्धाञ्जली दिएका थिए । लगत्तै युरोपा लिगको खेलमा नापोलीका खेलाडीले म्यारोडोनाको जर्सी लगाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उनले नापोलीबाट १ सय ८८ खेलमा सहभागीता जनाए । उनले आफ्नो करियरमा सबैभन्दा बढी खेल नापोलीबाट खेले । उनले क्लबका लागि ८१ गोल समेत गरे ।
उनले अर्जेन्टिनाबाट चार पटक विश्वकपमा सहभागीता जनाए । उनको कप्तानीमा सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा अर्जेन्टिनाले उपाधि जितेको थियो ।