एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा इटालीले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इटालीले १० खेलाडीमा सिमित पोल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
इटालीको जितमा जोर्जिन्हो र डोमिनिको बेरार्डीले एक एक गोल गरे ।
घरेलु मैदानमा जोर्जिन्होले २७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।
खेलको ७७ औं मिनेटमा गोराल्स्कीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पोल्याण्ड १० खेलाडीमा समेटिएको ।

त्यसपछि खेलको ८४ औं मिनेटमा डोमिनिकोले गोल गर्दै इटालीलाई २-० को जित दिलाए ।
जितसँगै लिग 'ए' समूह १ को इटालीले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।
समूहको शीर्ष स्थानमा रहेको इटालीले ५ खेलमा ९ अंक जोडेको छ ।
७ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बोस्निया एण्ड हर्जगोबिनालाई ३-१ ले हराएको छ ।

नेदरल्यान्ड्सको जितमा जर्जिनियो विज्नाल्डमले दुई गोल गरे । मेम्फिस डिपेको नाममा एक गोल रह्यो ।
बोस्नियाका स्माइल प्रिभीएलजाकले एक गोल फर्काए ।
जितसँगै ८ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो र बोस्निया २ अंक जोडेर पुछारमा रहेको छ ।