एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्सु फाती ४ महिना मैदान बाहिर रहने भएका छन् ।
स्पेनिस फरवार्ड फाती चोटका कारण ४ महिना मैदान बाहिर रहने भएका हुन् ।
फातीले सोमबार घुँडाको चोटको शल्यक्रिया गरेका छन् । उनलाई चोट मुक्त हुन ४ महिना लाग्ने बताईएको छ ।
१८ वर्षीय फाती रियल बेटिससँगको खेलमा घाइते भएका थिए । बार्सिलोनाले ५-२ को जित निकालेको खेलमा उनले पहिलो हाफ मात्र खेलेका थिए ।

फातीले यस सिजन बार्सिलोनाका लागि १० खेल खेलेका छन् । जसमा ५ गोल र २ गोलका लागि पास उपलब्ध गराएका छन् ।
उनले गत सेप्टेम्बरमा स्पेनका लागि सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।
१७ वर्ष ३ सय ११ दिनमा युक्रेनविरुद्ध गोल गर्दै फाती स्पेनका लागि सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी बनेका थिए ।