एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।
क्वालिफायर प्रवेशका लागि हुने हैदराबाद र बैंगलोरबीचको खेल आबुधाबीमा हुनेछ । खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
शेख जायद क्रिकेट स्टेडियममा हैदराबाद र बैंगलोर जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुई टिम जित निकाल्दै दोस्रो क्वालिफायर पुग्न चाहन्छ ।
यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । र, फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।
एलिमिनेटरमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । त्यसैले हैदराबाद र बैंगलोरबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद तेस्रो स्थानमा रहेर प्ले अफ पुगेको हो । हैदराबादले १४ खेलमा १४ अंक जोडेको थियो ।
लिग चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले हराएपछि हैदराबादको प्ले अफ यात्रा तय भएको थियो ।
विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर भने चौंथो स्थानमा रहेर प्ले अफ पुगेको हो । बैंगलोरले समेत लिग चरणमा १४ खेलमा १४ अंक जोडेको थियो ।
लिग चरणको अन्तिम खेलमा दिल्लीसँग पराजित भएपछि नेट रन रेटमा भाग्यमानी भन्दै बैंगलोरले प्ले अफमा स्थान बनाएको हो ।
हैदराबाद र बैंगलोरले लिग चरणमा दुई पटक प्रतिस्पर्धा गरेका छन् । जसमा दुबै टिमले एक एक जित निकालेको थियो ।
पहिलो भेटमा बैंगलोरले हैदराबादलाई १० रनले हराएको थियो । तर, दोस्रो भेटमा हैदराबादले बैंगलोरलाई ५ विकेटले हराएको थियो ।