एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायरमा अहिले मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ । दिल्लीले बलिङ गर्ने निर्णय गरेसँगै सुरुवातमा मुम्बईले ब्याटिङ गर्ने भएको छ ।
आज मुम्बई र दिल्ली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । त्यसैले दुई टिमबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
मुम्बईले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । मुम्बईले १४ खेलमा ९ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायरमा स्थान बनाएको हो ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली लिगको दोस्रो स्थानमा रहदै क्वालिफायर पुगेको हो । दिल्लीले लिग चरणमा १४ खेलमा ८ जितसहित १६ अंक जोडेको थियो ।
तर, मुम्बईविरुद्ध समेत दिल्लीले सन्दीपलाई प्लेईङ सेटमा राखेको छैन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीपले लिग चरणमा समेत मैदान उत्रने मौका पाएका थिएनन् ।