एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शुक्रबार) उल्भ्सले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ ।
उल्भ्सले घरेलु मैदानमा क्रिस्टलको सामना गर्ने छ । उल्भ्स र क्रिस्टलबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा उल्भ्स चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । उल्भ्सले ६ खेलम १० अंक जोडेको छ ।
उल्भ्स तालिकाको नवौं स्थानमा रहेको छ । तर, घरेलु मैदानमा क्रिस्टललाई हराए उल्भ्स शीर्ष तीन भित्र उक्लने छ ।
क्रिस्टलविरुद्ध मैदान उत्रदा उल्भ्सका विङ्ग ब्याक जोनी टिममा हुने छैनन् । तर, एडमा त्राओरे, जोआ मौटिन्हो र मार्कल सुरुवाती-११ मा फर्कने छन् ।
यता, क्रिस्टल पनि घरेलु टोलीलाई हराएर चौंथो जित निकाल्न चाहन्छ । क्रिस्टल ६ खेलमा १० अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ ।
क्रिस्टल उल्भ्सलाई हराएर शीर्ष स्थानको एभर्टनसँग अंक बराबरी गर्ने चाहन्छ ।
तर, क्रिस्टलका डिफेन्डर मिचेल र जोएल वार्डले चोटका कारण उल्भ्ससँगको खेल गुमाउने छन् ।
उल्भ्सविरुद्धको खेलमा क्रिस्टल हाबी हुँदै आइरहेको छ । तर, गत जुलाईमा भएको पछिल्लो भेटमा भने उल्भ्सले क्रिस्टललाई २-० ले हराएको थियो ।