एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आज (शनिबार) समूह चरणको खेलमा स्पेन र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह चरणको तेस्रो खेलमा स्पेन र स्विजरल्याण्ड भिड्न लागेका हुन् । स्पेनमा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा स्पेन दोस्रो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेलमा ४ अंक जोडेको स्पेन लिग 'ए' समूह चारको शीर्ष स्थानमा रहेको छ ।
स्पेनले पहिलो खेलमा जर्मनीसँग १-१ गोलको बराबरी खेलेको थियो । तर, दोस्रो खेलमा स्पेनले युक्रेनलाई ४-० ले हराएको थियो ।
स्विजरल्याण्ड भने पहिलो जितको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको स्विजरल्याण्डले १ अंक जोडेको छ ।
पहिलो खेलमा युक्रेनसँग २-१ ले हारेको स्विजरल्याण्डले दोस्रो खेलमा जर्मनीसँग १-१ गोलको बराबरी खेलेको थियो ।
यसै समूहको अर्को खेलमा जर्मनी र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ । २ खेलमा ३ अंक जोडेको युक्रेन तालिकाको दोस्रो स्थानमा रहेको छ ।
जर्मनीविरुद्ध मैदान उत्रदा युक्रेन दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।
यता, जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । जर्मनी २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
जर्मनीले स्पेन र स्विजरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।
नेसन्स लिग अन्तर्गत नै लक्समबर्गले साइप्रससँग खेल्दा मोन्टेनेग्रोले अजरबैजानसँग खेल्नेछ ।
माल्टाले एण्डोरासँग प्रतिस्पर्धा गर्दा लात्भियाले फारोई आइसल्याण्डसँग खेल्नेछ ।