एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले दुई गोल गरे । यस्तै बेल चिलवेल र कुर्ट जौमाले एक एक गोल गरे ।
स्टामफोर्ड ब्रिजमा पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा चार गोल गरेको थियो ।

खेलको ५० औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । यसै सिजन क्लब आएका चिलवेलको यो चेल्सीका लागि पहिलो गोल हो ।
खेलको ६६ औं मिनेटमा कुर्टले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो ।
क्रिस्टलका मिचेलले चेल्सीका टामी अब्राहमलाई पेनाल्टी क्षेत्रमा लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा जोर्गिन्हो चुकेनन् ।
त्यसपछि खेलको ८२ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए ।
यस पटक भने क्रिस्टलका साखोले चेल्सीका काइ हाभर्ट्जलाई फउल गरेका थिए ।

जितसँगै चौंथो स्थानमा उक्लिएको चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ । चेल्सीको यो लिगमा दोस्रो जित हो ।
क्रिस्टलको ४ खेलमा ६ अंक रहेको छ । आठौं स्थानको क्रिस्टलको यो दोस्रो हार हो ।