एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले नयाँ गोलकिपरको रुपमा सेनेगलका एडुअर्ड मेन्डीलाई अनुबन्धन गर्न सहमत भएको छ ।
फ्रेन्च क्लब रेनेसका २८ बर्षिया गोलकिपरलाई लण्डन क्लब जोड्न मुख्य प्रशिक्षक फ्राङ्क लाम्पार्ड सहमत बनेका हुन् ।
क्लबका कीर्तिमानी मुल्यका गोलकिपर किपा एरिजाब्लागासंग प्रतिस्पर्धा बढाउन चेल्सी नयाँ गोलकिपर अनुबन्धनको प्रयास गरिरहेको थियो ।
कीर्तिमानी मुल्य ७१ मिलियन पाउण्डका किपाको साना साना गल्तीका कारण चेल्सी पछिल्लो समय खराब नतिजा आत्मसाथ गर्दै आएको छ । आईतबार मात्र उनकै गल्तीमा चेल्सीले लिभरपुलसंग २–० को पराजय ब्यहोर्यो ।
स्पेनका अन्तराष्ट्रिय गोलकिपर खराब प्रर्दशनका कारण गत सिजन बेन्चमा थन्किएका थिए । उनी एफ ए कपको फाईनलमा समेत टिम बाहिर रहेका थिए । उनको स्थानमा ३८ बर्षका विली काबालेरोलाई टिममा मौका दिईएको थियो ।
घरेलु मैदानमा लिभरपुलसंग पराजित बनेपछि लाम्पार्डले बुधबार सुरु हुने काराबाओ कपमा विलीले चेल्सीको गोलपोस्ट सम्हाल्ने बताएका छन् ।
‘किपाले काम गरिरहनु परेको छ । उसलाई सबैतिरबाट सहयोग गर्नुपर्छ ।’ लाम्पार्डले भनेका छन् ।
‘व्यक्तिगत रुपमा खेलाडीलाई सहयोग चाहिन्छ । विशेष गरि मबाट र म त्यो सबै खेलाडीलाई दिन्छु । र अब हामीले उसलाई आत्मविश्वास दिन खोज्नुपर्यो । किनकी त्यो महत्वपूर्ण छ ।’ उनले थपे ।