एजेन्सी । १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युएई पुगेका सन्दीप प्रशिक्षणमा जोडिएका छन् ।
लगातार तेस्रो पटक आईपीएल खेल्न लागेका नेपाली लेग स्पिनर सन्दीप आफ्नो टिम दिल्ली क्यापिटल्ससँग अभ्यासमा जोडिएका हुन् ।
वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) बाट आईपीएलका लागि सेप्टेम्बर १४ मा दुबई पुगेका सन्दीप शनिबारको अभ्यासमा सामेल भएका हुन् ।
दिल्लीले सार्वजनिक गरेको सनिबार साँझ अभ्यासको लाईभ भिडियोमा नेपालका ग्लोबल आइकन सन्दीप नेटमा अभ्यास गरेको देख्न सकिन्छ । यस्तै लाइभ भिडियो सार्वजनिक गर्ने व्यक्तिले समेत सन्दीप नेटमा ब्यस्त रहेको बताएका छन् ।
'स्याण्डी (सन्दीप) र उनको साथी पृथ्वी, दुवै जना नेटमा लेग स्पिन बलिङ्ग गर्दैछन्,' लाइभ गर्दै गरेका ब्यक्तिले भनेका छन्, 'उनीहरुसंग अमित मिश्र समेत छन् ।'
आईपीएल प्रोटोकल अनुसार सन्दीप सुरुका ६ दिन क्वारेन्टाइनमा बस्दै ३ चरणको कोरोना परिक्षण गरेपछि प्रशिक्षणमा सामेल भएका हुन् ।
उनीसंगै वेष्ट इण्डिजबाट आएका खेलाडी दिल्लीका सिम्रन हिट्मायर, केमो पाउल समेत अभ्यासमा जोडिएका छन् ।