एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति घरेलु मैदानमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २–१ गाेल अन्तरले पराजित गरेको हो ।
अलेक्जेन्ड्रे लाकाजेटको गोलमार्फत २५ औं मिनेटमा आर्सनलले खेलमा अग्रता बनाएको थियो ।
पियरिक इम्रिक अबुमियाङको क्रसलाई सदुपयोग गर्दै लाकाजेटले लण्डन क्लबलाई अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा माइकेल एन्टोनियोले खेल बराबरीमा ल्याएका थिए ।
खेल सकिन ५ मिनेट अघि एडवर्ड निक्केयाले गोल गर्दै आर्सनललाई लगातार दोस्रो जित दिलाए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले आर्सनलका लागि विजयी गोल गरेका हुन् । उनी ७७ औं मिनेटमा लाकाजेटको स्थानमा मैदान छिरेका थिए ।
आर्सनलले २ खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम लगातार दोस्रो खेलमा पराजित बनेको छ ।
पछिल्ला ४ सिजनमा वेस्ट ह्याम तेस्रो पटक प्रिमियर लिगका सुरुवाती दुई खेलमा पराजित बनेको हो ।