एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा युनाइटेड घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
ओल्ड ट्राफोर्डमा क्रिस्टललाई जित दिलाउन विल्फ्रेड जाहाले दुई गोल गरे । यस्तै एन्ड्रोस टाउनसेन्टले एक गोल गरे ।
युनाइटेडका डेब्यु खेलाडी डोनी भान डी विकले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा टाउनसेन्डले गोल गर्दै क्रिस्टललाई १-० को अग्रता दिलाएका थिए ।
७४ औं मिनेटमा जाहाले पेनाल्टीमा गोल गर्दै क्रिस्टललाई २-० को अग्रता दिलाए ।
युनाइटेडका भिक्टर लेन्डीलोफले ह्याण्डबल गरेपछि क्रिस्टलले पेनाल्टी पाएको थियो । जसमा जोर्डन एयुको पेनाल्टी प्रहार युनाइटेडका गोलकिपर डेभिड डी गियाले बचाए ।
तर, डी गियाले पेनाल्टी रोक्दा नियम विपरित अघि बढेको भन्दै भीएआरको सहायताबाट क्रिस्टललाई पुन:पेनाल्टीको अवसर दिईएको थियो । उक्त अवसरमा जाहाले सहजै गोल गरे ।

खेलको ८० औं मिनेटमा डेब्यु खेलाडी विकले गोल गर्दै युनाइटेडलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गर्दै क्रिस्टललाई ३-१ को जित दिलाए ।
जितसँगै क्रिस्टलले २ खेलमा ६ अंक जोडेको छ । क्रिस्टल लिगको दोस्रो स्थानमा रहेको छ ।
क्रिस्टलको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा क्रिस्टलले साउथह्याम्पटनलाई १-० ले हराएको थियो ।
युनाइटेडले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

