एजेन्सी । भारतका पूर्व क्रिकेटर अजित अगरकरले इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सको लागि नेपाली लेग स्पिनर सन्दीप लामिछाने ब्रेकथ्रु बन्न सक्ने बताएका छन् ।
क्रिकइन्फोसँगको कुराकानीमा अजितले दिल्लीको लागि नेपाली स्पिनर सन्दीप ब्रेकथ्रु बन्न सक्ने बताएका हुन् ।
सन्दीपमा थुप्रै क्वालिटी रहेको खेल अनुसारको 'माइण्ड मेकअप' गर्न सक्ने क्षमता भएकोले दिल्लीका लागि सन्दीप ब्रेकथ्रु बन्न सक्ने अजितले बताएका हुन् ।
दिल्लीको टिमको प्रिभ्युमा अजितसँगै गौतम गम्भीर, आकाश चोपडा, दिप दास गुप्ता, रौनक कपुरले र डस्टिन सिल्गार्डोको कुरा समेत राखिएको छ । उनीहरुलले पनि सन्दीप दिल्लीको ४ विदेशी खेलाडीको रोजाइ भित्र पर्न सक्ने बताएका छन् ।
प्लेइङ सेटको चार विदेशी खेलाडीको रुपमा सन्दीपलाई समेट्ने विश्लेषकहरुको बहुमत देखिएको हो । आईपीएलमा कुनै एक खेलमा बढीमा ४ विदेशी खेलाडी खेलाउन पाउने प्राबधान छ ।
अजित, आकाश, दिपदास र रौनकले दिल्लीले ४ विदेशी खेलाडी खेलाएमा सन्दीपलाई समेट्ने बताए ।

सन्दीप लगातार तेस्रो पटक आईपीएल खेल्न युएई पुगिसकेका छन् । ६ दिनको क्वारेन्टिन र ३ चरणको पीसीआर परिक्षणमा कोरोना नेगेटिभ देखिए सन्दीप टिमसँग सामेल हुने छन् ।
कोरोनाको महामारीको कारण भारतमा आयोजनाको सम्भावना नभएपछि १३ औं संस्करणको आईपीएल युएईमा हुन लागेको हो ।
शनिबारबाट सुरु हुने प्रतियोगितामा सन्दीपको टिम दिल्लीको पहिलो किङ्स इलाभेन पन्जाबविरुद्ध रहेको छ ।
तर, सन्दीपले आइतबार हुने पहिलो खेल खेल्ने सम्भावना छैन । किनकि सीपीएल खेलेर युएई पुगेका सन्दीप क्वारेन्टिनमा रहेका छन् ।
डेब्यु वर्ष सन्दीपले आईपीएलमा ३ खेल खेल्दा दोस्रो वर्ष दिल्लीबाट ६ खेल खेल्ने मौका पाएका थिए ।