काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फ्रेन्चाईज टिम विराटनगर टाईटन्सले सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको उपचार्थ आर्थिक सहयोग गरेको छ ।
विराटनगर टाईटन्सले बुधबार ललितको उपचारको लागि १ लाख आर्थिक सहयोग गरीएको जनाएको छ ।
ललितको उपचारको लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को खातामा सहयोग पठाईएको टाईटन्सले जनाएको छ ।
ललितको उपचारका लागि पछिल्लो समय सिप्यानले आर्थिक संकलन गरिरहेको छ ।
सिप्यानले सेञ्चुरी कमर्सियल बैंकको ००१०००२५२९ CA खातामा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।
आईतबार राति धनगढीबाट महेन्द्रनगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए ।
सोमबार भने ललितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ललितको उपचार काठमाडौंको ग्राण्डी अस्पतालमा भईरहेको छ।
चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहदै आएका थिए । विभागीय टिम पुलिसमा आबद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए ।
