काठमाडौं । सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले थप उपचारका लागि ललितलाई सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको जनाएको छ ।
ललितको थप उपचार काठमाडौंको ग्राण्डी अस्पतालमा हुनेछ ।
आईतबार राति धनगढीबाट महेन्द्रमगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए ।
क्यानले ललितको अवस्था सुधारोन्मुख रहेको समेत जनाएको छ । हात र खुट्टामा गम्भिर चोट लागेकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहदै आएका थिए । विभागीय टिम पुलिसमा आबद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए ।
