काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्द टिम जमैका तलावाजले आज (आइतबार) समूह चरणको अन्तिम खेल खेल्दैछ ।
जमैकाले समूह चरणको अन्तिम खेलमा सेन्ट लुसिया जोउक्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा हुने जमैका र सेन्ट लुसियाबीचको खेल नेपाली समय अनुसार राति १२ बजे सुरु हुनेछ ।
सेमिफाइनल पुगिसकेको जमैका समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ ।
तर, अन्तिम खेलमा जित निकाले पनि जमैका तालिकाको चौंथो स्थानमा रहेर नै सेमिफाइनल पुग्नेछ ।
जमैका ९ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।
सेन्ट लुसिया ९ खेलमा १० अंक सहित तेस्रो स्थानमा रहेको छ ।
सेन्ट लुसिया जमैकालाई हराएर दोस्रो स्थानमा रहेर सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।
यस्तै सेन्ट लुसिया जमैकाविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
जमैकाले पहिलो भेटमा सेन्ट लुसियालाई ५ विकेटले हराएको थियो ।
सेन्ट लुसियाविरुद्ध सन्दीप प्लेइङ सेटमा पर्ने सम्भावना बलियो रहेको छ ।
किनकी सन्दीपले हरेक खेलमा विकेट लिईरहेका छन् ।
सन्दीपले ९ खेलमा ११ विकेट लिन सफल भईसकेका छन् ।