एजेन्सी । लियोनल मेस्सीका बुवा तथा एजेन्ट जर्जले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउसंग भेट गरेका छन् ।
मेस्सीको भविष्यलाई लिएर उनको पिता तथा एजेन्टले बार्सिलोनाका अध्यक्षसंग भेट गरेका हुन् ।
३३ बर्षिया फरवार्डले गत मंगलबार २० बर्षको बर्षगाँठको अवसरमा क्लब छाड्न चाहेको बताएका थिए ।
स्पेनिस फुटबल पत्रकार गुइल्म बाल्गले छलफलबाट कुनै समाधान ननिस्किएको र थप कुराकानी गर्नुपर्ने देखिएको बताएका छन् ।
‘मलाई लाग्छ, हामी कुनै बिन्दुमा सम्झौतामा प्रवेश गर्नुपर्छ । मेस्सीले क्लब छोड्नेछन् ।’ मेस्सीको बुवा जर्जको भनाई उद्धित गर्दै बाल्गले भनेका छन् ।

प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी ६ बर्षका बालेन डी ओर विजेता मेस्सीलाई अनुबन्धन गर्ने दौडमा अघि छ । प्रिमियर लिग क्लबले मेस्सीलाई सहमत बनाईसकेको धेरैको अनुमान छ ।
तर मेस्सी र बार्सिलोनाबीच रिलिज क्लजको बिषयलाई लिएर असझदारी बढेको छ । सम्झौता अनुसार क्लबले आफुलाई निशुल्क छाड्नुपर्ने मेस्सीको माग छ । बार्सिलोनाले भने सो शर्तको समय समाप्त भईसकेको कारण मेस्सीलाई लैजाने क्लबले ७ सय मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने दाबी गरेको छ ।
बार्सिलोनासंग मेस्सीको सम्झौता सन् २०२१ सम्म रहेको छ । मेस्सीले जानकारी गराएको खण्डमा जुन १० भित्र अर्जेन्टिनी फरवार्ड निशुल्क बार्सिलोना बाहिर निस्कन पाउने थिए । तर कोरोना भाईरसका कारण सिजन अगष्ट २३ सम्म लम्बिएको थियो ।