काठमाडौं । गत महिनाको अन्त्यतिर नेपाली फुटबलमा ठुलै हलचल मच्चियो । कारण थियो विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण फुटबल खेलाडीमा देखिनु ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट खेलका लागि प्रशिक्षण सुरु गर्नु अघि खेलाडी र अफिसियलहरुको पीसीआर परिक्षण गरेको थियो ।
पीसीआर परिक्षण गरेको दोस्रो दिनमा एक खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।
पहिलो रिर्पाेट पोजिटिभ आएपछि उनको पुनः दोस्रो पटक परिक्षण गरिएको थियो । उनको दोस्रो पटकको रिपोर्ट पनि पोजिटिभ देखिएको थियो ।
कोरोना देखिएका ती खेलाडी थिए, एरिक विष्ट ।
तर, न्युरोड टिम एनआरटी क्लबमा आबद्ध रहेका एरिक कोरोनाको कुनै लक्षण देखिएको थिएन् । सुरुवातमा उनलाई कोरोना लागेकोमा विश्वास समेत लागेको थिएन ।
‘आफुलाई कोरोना लागेको बाहिरबाट थाहा पाए । मलाई त्यस्को कुनै जानकारीनै आएन । कुनै लक्षण पनि नहुँदा फेरि गएर स्वाब दिए । त्यसपछिको रिर्पाेटमा पनि पोजिटिभ देखियो,’ पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेको एरिकले खेलापटीसँग भने ।
एन्फा एकेडेमीका एरिक पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षणमा परेका हुन् । एरिकले ललित स्मृति कपमा आर्मी क्लबबाट दुई पटक उपाधि हात पारे ।
उमेर समूहको राष्ट्रिय टिम यू–१९ बाट भुटानमा भएको साफ च्याम्पियनसिपको उपाधि नेपाललाई दिलाए । यस्तै नेपालको प्रतिनिधित्व गर्दै यू –२३ एएफसी छनोट कतारमा पुगेर समेत खेलेका थिए ।

१९ दिनमा कोरोनालाई जितेका एरिकले संक्रमण भएपनि कोरोनालाई जित्न सकिने बताउछन् ।
‘हामीले बाहिर सुनेजस्तो अवस्था देखिएन । मलाई कुनै लक्षण भएर पनि हुन सक्छ । सदाझै सामान्य तरिकाले नै दिनहरु बित्यो । कोरोना लाग्दैमा आत्तिनु पर्दैन । मनोबल उच्च भए यसलाई पराजित गर्न सकिन्छ,’ उनले भने ।
पहिलो पटक राष्ट्रिय टिममा पर्ने लक्ष्य बनाएका एरिकले एउटा युद्ध जितेको र अब राष्ट्रिय टिमको लागि फाइट गर्ने बताए ।
‘आज एउटा युद्ध जितेको छु । अब राष्ट्रिय खेलाडी भएपछि जसलाई पनि देशको प्रतिनिधित्व गरेर खेल्ने सपना हुन्छ । मेरो पनि त्यहिँ सपना छ । समय अझैछ । राष्ट्रिय टिममा पर्न मेहनत गर्छु,’ एरिक भन्छन् ।
तर, कोरोनालाई जितेका एरिक समाजले हेर्ने नजरबाट भने खिन्न भए ।
‘कोरोना लागेपछि समाजले बेग्लै रुपमा हेर्दाे रहेछ । एउटा नमिठो अनुभव भयो । हामी काठमाडौंका मान्छे त यस्ता छौं भने बाहिरको अवस्था कस्तो होला,' २० वर्षीय एरिकले भने ।