एजेन्सी । जर्मन क्लब बायर लेवरकुसेनका मुख्य प्रशिक्षक पिटर बोजले मिडफिल्डर काइ हाभर्ट्जले फेरी टिमसँग प्रशिक्षण गर्ने सम्भावना कम रहेको बताएका छन् ।
जर्मन मिडफिल्डर हाभर्ट्ज इंग्लिस क्लब चेल्सी जाने चर्चा चलिरहेको बेला मुख्य प्रशिक्षक पिटरको यस्तो भनाई आएको हो ।
लेवरकुसेनले प्रि सिजन तयारी गरिरहेको छ । तर, हाभर्ट्ज अहिले जर्मनीको टिमसँग रहेका छन् ।
जर्मनीले नेसन्स लिग अन्तर्गत स्पेनसँग यसै साता र स्विजरल्याण्डसँग अर्को साता खेल्नेछ ।
'दुर्भाग्यवश, हाम्रो टोली अझै निर्धारण भएको छैन,' मुख्य प्रशिक्षक पिटरले भने, 'मलाई आशा छैन कि हाभर्ट्जले फेरी हामीसँग प्रशिक्षण गर्ने छन् । यो सम्भव छ कि अन्य खेलाडीले पनि छाड्ने छन् ।'
२१ वर्षीय मिडफिल्डर अनुबन्धका लागि चेल्सीले प्रयास गरिरहेको छ । उनलाई अनुबन्ध गर्न चेल्सी ९० मिलियन खर्च गर्न तयार समेत देखिएको छ ।
चेल्सीले केहि दिनमा हाभर्ट्जलाई सार्वजनिक गर्ने चर्चा समेत चुलिएको छ ।
फ्रान्क लाम्पार्डले यस सिजन सातौं खेलाडीको रुपमा हाभर्ट्जलाई क्लबमा अनुबन्ध गर्न लागेको हो ।
चेल्सीले टिमो वेर्नेर, हाकिम जिएच, थियागो सिल्भा, बेन चिलवेल लगायतका खेलाडी अनुबन्ध गरिसकेको छ ।
गत सिजन सनसनी प्रदर्शन गरेपछि चेल्सीले उनलाई अनुबन्धको तयारी गरेको हो ।
गत सिजन लिवरकुसेनले पाँचौ स्थान हासिल गर्दा हाभर्ट्जले १९ गोल गरेका थिए ।