एजेन्सी । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फार्नान्डिजले लियोनल मेस्सीलाई आफ्नो देश फर्कन आह्वान गरेका छन् ।
अर्जेन्टिनी राष्ट्रपतिले मेस्सीलाई आफ्ना देश फर्कन आग्रह गर्दै नेवेल्स ओल्ड ब्वायजबाट आफ्नो खेल करियर सक्न अनुरोध गरेका हुन् ।
मेस्सीको भविष्य पछिल्लो केही सातायता अनिश्चित बनेको छ । उनले बार्सिलोना छाड्ने निर्णय गरेसंगै उनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ ।
मेस्सीको नाउ क्याम्पसंग विवाद बढ्ने संकेत देखिएको छ । ला लिगाले भर्खरैमात्र मेस्सीलाई निशुल्क सरुवाको अनुमती दिन नसकिने बताएको छ ।
बार्सिलोनाले मेस्सी अनुबन्धनका लागि कुनैपनि क्लबले ७ सय मिलियनको रिलिज क्लज तिर्नुपर्ने बताएको छ ।
युरोपेली क्लब फुटबलका धनी क्लबहरु मेस्सी अनुबन्धनका लागि इच्छुक छन् । तर प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी मेस्सी अनुबन्धनको दौडमा अघि छ । सिटीसंगै पीएसजी, इन्टर मिलान र युभेन्ट्स समेत मेस्सी अनुबन्धनमा इच्छुक देखिएका छन् ।

३३ बर्षिया मेस्सीले ब्यक्तिगत रुपमा अर्को सिजन अझ बलियो उपस्थिती देखाउन सक्छन् । उनी अझैपनि युरोपको शीर्ष क्लबमा आफुलाई प्रतिस्पर्धामा उतार्न सक्छन् । तर उनले अर्जेन्टिना फर्कने सम्भावित विकल्पलाई बन्द गरेका छैनन् ।
मेस्सीको बाल्यकालका क्लबका समर्थकले अर्जेन्टिनाका सडकमा उत्रिएर मेस्सी देश फर्कनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । अर्जेन्टिनी राष्ट्रपतिले समेत मेस्सी र क्लबको पुनर्मिलन चाँडै देख्ने इच्छा ब्यक्त गरेका हुन् ।
‘तिमी हाम्रो ह्दयमा छौ । र हामीले यस देशमा खेलेको देख्न पाएका छैनौ ।’ फर्नान्डिजले मेस्सीलाई पठाएको सन्देशमा भनेका छन् ।
‘हामीलाई न्युवेल्स ओल्ड ब्वायजमा आफ्नो करियर अन्त्य गरेर खुसी देउ ।’ उनले भनेका छन् ।
राष्ट्रपति फर्नान्डिज ब्युनस आयर्सको टिम अर्जेन्टिनोस जुनियरका समर्थक हुन् । उनी आफुलाई डिएगो म्याराडोनाको सबैभन्दा ठुला प्रसंशक मान्छन् ।
‘म्याराडोनाको महान योग्यता भनेको उनी संसारको बिरुद्धमा एक्लै खेले ।’ फर्नान्डिजले भने ।
‘मैले कहिल्यै म्याराडोना जस्ता खेलाडी देखिन । म उनको गहिरो रुपमा प्रशंसा गर्छु ।’ उनले थपे ।

बार्सिलोनासंग मेस्सीको विवाद बढ्ने देखिन्छ । उनले बार्सिलोनाबाट आफ्नो खेल्ने इच्छा नरहेको बताईसकेका छन् ।
बार्सिलोना मेस्सी अनुबन्धनका लागि ७ सय मिलियनको रिलिज क्लज देखाएर क्लबमा राख्न चाहन्छ । मेस्सी शर्त अनुसार आफु निशुल्क क्लबबाट बाहिरिन पाउनुपर्ने माग गर्दै आएका छन् ।
उनले आईतबार क्लबको मेडिकल परिक्षण समेत बहिष्कार गरेका थिए । उनले बार्सिलोना छाड्ने मन बनाईसकेको देखिन्छ ।