एजेन्सी । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अनुबन्धको लागि ७ सय मिलियन युरो रिलिज क्लज तिर्नु पर्ने भएको छ ।
स्पेनिस ला लिगाले आइतबार मेस्सी अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई ७ सय मिलियन युरो रिलिज क्लज तिर्नु पर्ने जनाएको छ ।
एक विज्ञप्ति निकाल्दै ला लिगाले मेस्सीले क्लब छाड्न चाहेमा क्लबलाई सम्झौता अनुसारको रिलिज क्लज तिर्नु पर्ने बताएको छ ।
ला लिगाको निर्णयसँगै मेस्सीले फ्रि ट्रान्सफर र बार्सिलोनाको अनुमति बिना क्याम्प नाउ छाड्ने नपाउने भएका छन् ।
तर, ७ सय मिलियन युरो रिलिज क्लज तिर्न सफल भएमा मेस्सीले बार्सिलोनाको सहमति बिना समेत क्लब छाड्न पाउने छन् ।
मेस्सीले गत साता क्लबलाई पत्र लेख्दै क्लब छाड्ने बताईसकेका छन् ।
तर, बार्सिलोनाले भने यस समर ट्रान्सफरमा मेस्सीले क्लब छाड्न नसक्ने बताउँदै आएको छ ।
ला लिगाको निर्णयले समेत बार्सिलोनालाई राहत मिलेको छ । तर, मेस्सीलाई भने कठिन हुने भएको छ ।
अर्जेन्टिनी फरवार्ड मेस्सीको बार्सिलोनासँगको सम्झौता २०२१ सम्म रहेको छ ।
मेस्सी आइतबार क्लबले गरेको कोरोनाको पीसीआर टेस्टमा समेत सहभागिता भएका थिएनन् ।
बार्सिलोनाले टिमको प्रशिक्षण अघि खेलाडीको पीसीआर गरेको हो ।
बार्सिलोनाले नयाँ सिजनका लागि सोमबारबाट प्रशिक्षण सुरु गर्दैछ ।