रोनाल्डिन्होको यात्रा – विश्व विजेतादेखि कारागारसम्म !

एजेन्सी । रोनाल्डिन्हो आफ्नो करियरको उच्च बिन्दुमा रोक्न नसकिने खेल खेल्दथे । नहेरी पास खेल्नु, एउटा खुट्टा तेर्साएर अर्को खुट्टाले गर्ने प्रहार उनको चिनारी बनेको थियो ।
२००० को दशकमा ब्राजिलले विश्व फुटबलमा एकछत्र राज गर्यो । त्यस दशकदेखि नै रोनाल्डिन्होले खेलाडीको जीवन भर जित्नु पर्ने सबै जितेका छन् । यस्तै, हार्न समेत धेरै हारेका छन् ।
सन् २०११ मा ३० वर्षको उमेरमै इटालीयन क्लब एसी मिलानबाट बाहिरिएपछि उनले कलिला खेलाडी नेयमारलाई आफ्नो काँध दिए । कोपा लिबर्टाडोरेस जिते । अरब रियलिटी शो र रूसी सुपरमार्केट विज्ञापनमा समेत देखिए । यस्तै जिन क्लाउड भान डामसँग हलिउडमा समेत खेले ।
यो वर्ष उनले आफ्नो स्वतन्त्रता गुमाए । उनले आफ्नो ४० औँ जन्मोत्सव पाराग्वेको जेलमा बिताए ।
सन् २०११ को जनवरीमा उनले आफ्नो रातो–कालो धर्के जर्सी छाडेर फ्लामेङ्गोमा गए । मिलानका प्रशिक्षक मासिमिलानो एलेग्रीले यसलाई जिवन्त रोजाइ बताए ।
यसको मुख्य कारण ‘फुटबल बाहिरका कारण’ थिए । उनी राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । यसले उनको धैर्यता सकिएको थियो ।
उनको यो निर्णयले सन् २००२ मा विश्वकप जित्दाका साथी रिभाल्डोलाई समेत चकित गरायो । ‘उनले अझै लामो समय युरोपमै खेल्नु पर्दथ्यो, तर यो उनको यो निजी निर्णय हो । उनले त्यहाँ आफ्नो कथा लेखिसकेका छन् । उनले आफ्नो खेल जीवन घर परिवार नजिक अन्त्य गर्न चाहेकाले पनि ब्राजिल फर्किएको हुन सक्छ ।’ रिभाल्डोले भनेका थिए ।
फुटबल मैदानमा झैँ उनी मैदान बाहिर पनि सबैको नजरमा हुन्छन् । तर अहिलेको उनको अवस्था निकै तनावपूर्ण रहेको छ । बाल्यकालका रोनाल्डो डे एसिस मोरेइरा, रोनाल्डिन्हो भिला नोभामा हुर्किएका थिए । उनकी आमा मिगिउलिनाले घरघरमा गएर सामान बेच्थिन् । उनका बुबा जोआओ ग्रेमिओमा एक कार पार्कमा राती काम गर्दथे । उनका दाइ रोबर्टो एसिसले १७ वर्षको उमेरमा ग्रेमिवोसँग एक व्यवसायिक सम्झौता हस्ताक्षर गरेपछि भने उनीहरुले नयाँ घर पाए । फुटबलले उनीहरुको गरिबी हटाइदियो ।
रोनाल्डिन्होले सन् २०१५ मा आफ्ना दाई एसिस, रिभेलिनो, रोमारियो, रोनाल्डो, रिभाल्डो र डिएगो म्यारोडोना आफ्नो आदर्श खेलाडी रहेको बताएका थिए ।
त्यहि घर उनको लागि जीवन बनाउने माध्यम बन्यो र आफ्ना दाजुभाइसँग झनै नजिक गराइदियो ।
रोनाल्डिन्हो ८ वर्षको हुँदा उनका पिता स्विमिङ पुलमा हुँदा मुटुमा समस्या आएपछि निधन भएको थियो । एसिसले यो खबर आफ्ना भाइलाई सुनाए । एसिसलेनै पिताको भुमिका पूरा गर्न थाले ।
एसिसले आफुलाई रोनाल्डिन्होको भावी एजेन्टका रुपमा चिनाउँदथे । उनले अरुसँग समेत आफू भन्दा आफ्ना भाइ रोनाल्डिन्हो उत्कृष्ट भएको बताउँथे । यसले उनको चर्चा झनै चुलियो । उनले विद्यालय स्तरीय खेलमा एकै खेलमा २३ गोल गरेपछि भने उनी झनै चिनिन थाले । रोनाल्डिन्होले आफ्नो घरमा आफ्ना कुकुरहरु बाला र बमबमसँग ड्रिब्लिङ अभ्यास गर्दथे ।
यसको ४ वर्ष पछि उनले ब्राजिललाई १७ वर्ष मुनिको विश्वकप फुटबल प्रतियोगिता जिताउन महत्वपूर्ण भुमिका खेले । १९ वर्षको उमेरमा उनले ग्रेमिवोको प्रतिद्वन्दीलाई हराउन निकै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले खेल पश्चात आफु ग्रेमिवोलाई धेरै माया गर्ने बताउँदै क्लबका लागि निशुल्क खेल्न समेत तयार रहेको बताएका थिए ।
आफ्नो २१ औँ जन्मोत्सव अघि उनले ब्राजिलको मुख्य डिभिजनमा दोश्रो सर्वाधिक गोलकर्ता बनेका थिए । उनलाई इंग्लिस क्लब लिड्स युनाइटेडले ४० मिलियन युरोको प्रस्ताव राखेको थियो । ग्रेमिवोले आफ्नो मैदानबाहिर ब्यानरमा ‘हामिले हाम्रा उत्कृष्ट खेलाडी बेच्दैनौँ ।’ लेखेर त्यस प्रस्तावको प्रतिक्रिया जनाएको थियो ।
उनको सम्झौता समय सकिँदै जाँदा ग्रेमिवोसँग सम्झौता नविकरण हुन सकेन । फेब्रुअरी २००१ मा एसिसको सहयोगमा उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग प्रारम्भिक सम्झौता गरे ।
‘दि विजार्ड’को उपनाम पाएका उनले संसारभरका दर्शकको मन जित्दै थिए । सन् २००२ मा उनले ब्राजिललाई विश्वकप जिताउन सहयोगी भुमिका खेले ।
त्यसको एक वर्षपछि उनी स्पेनीस क्लब बार्सिलोनामा अनुबन्ध भए । त्यहाँ रहँदा उनले च्याम्पियन्स लिग, दुई लिग उपाधि जिते । साथै उनी बार्सिलोनाका तत्कालीन युवा स्टार लियोनेल मेस्सीको सारथी बनिदिए ।
सन् २०११ मा एसी मिलानमा साँढे दुई सिजन बिताएपछि उनी ब्राजिल फर्किए । त्यति बेलासम्म उनलाई ग्रेमिवोको बोर्डले माफी दिईसकेको थियो, तर समर्थकले भने अझै भुलेका थिएनन् ।
उनले आफ्नो बाल्यकालको क्लब ग्रेमिवोमा फर्कने बताउने गरेका थिए । त्यसैले क्लबका अध्यक्ष पाब्लो ओडोनले एसिससँग धेरै प्रस्ताव राखेका थिए । क्लबले उनको स्वागतका लागि सुरक्षा सतर्कताका लागि प्रहरी र हेलिकप्टरको समेत व्यवस्था गरेको थियो । तर रोनाल्डिन्हो गएनन् ।
जब ओडोनले रोनाल्डिन्हो फ्लामेङ्गोमा जाने कुरा पत्ता लगाए तब उनले एसिस आफ्नो बचनमा अडिग नरहेको बताएका थिए ।
रोनाल्डिन्होले फ्लामेङ्गोको मैदानमा २० हजार समर्थकको अगाडी आफू ब्राजिलमा करियरको अन्त्यका लागि नभइ खेल जित्नका लागि आएको बताएका थिए । ‘धेरै खेलाडी ब्राजिलमा आफ्नो खेल जीवन सकाउन आउँछन् । तर म फ्लामेङ्गोको नाम बढाउन र सक्ने जति उपाधि जिताउन आएको हुँ ।’ उनले भनेका थिए ।
ग्रेमिवोका समर्थक आक्रोशित थिए । १० महिना पछि फ्लामेङ्गो ग्रेमिवोसँग खेल्न जाँदा उनी माथि सिक्का, चक्कु फालिएको थियो । दर्शकले उनको अनुहारको चित्र र नक्कली पैसा प्रदर्शन गरेका थिए ।
त्यस खेल हारेपनि उनी कुनै प्रतिक्रिया जनाएनन् । उनलाई त्यस मैदानको वातावरणका बारेमा सोध्दा उनले भनेका थिए, ‘म झगडा गर्न नचाहने एउटै क्लब छ भने त्यो ग्रेमिवो नै हो । तर फ्लामेङ्गोको दर्शकको आवाज सुनेको मलाई ग्रेमिवोको आवाज केही होइन ।’
रोनाल्डिन्हो मैदान भित्र भन्दा मैदान बाहिर बढी चर्चाको विषय बने । नेयमारको सान्तोसलाई ५–४ ले हराएको रात रोनाल्डिन्हो मदिरा र युवतीसंग समुहमा रहेको फोटो बाहिरिएका थिए । क्लबले एउटा ‘हटलाइन’ गराएको थियो, जब समर्थकले रोनाल्डिन्होलाई रातीमा पार्टी गर्दै हिँडेको देखेमा खबर गर्न सक्दथे ।
फ्लामेङ्गोका सचेतक जोसे कार्लोसलले आफुहरुलाई रोनाल्डिन्होको बारेमा खबर गर्न धेरै फोन आएको बताएका थिए । ‘रोनाल्डिन्हो फ्लामेङ्गोको अनुहार थिए, तर उनी समर्पित थिएनन् । उनी फुटबलर भन्दा पनि पार्टी गर्न रुचाउने मानिस थिए ।’ उनले भनेका थिए ।
फ्लामेङ्गोमा तलब कटौती भएपछि उनका दाइ एसिसले सम्झौता रद्द गरिदिए । ४ वर्षे सम्झौता १६ महिना मात्र टिक्यो । त्यसको ४ दिन पश्चात् समर्थकहरुले उनको पुत्ला जलाए । उनी एट्लेटिको मिनेइरोसँग प्रशिक्षणमा सहभागी बनेको देखिए ।
उनले त्यहाँ थोरै तलबमै खेल्न तयार भए । आफ्नो जर्सी नम्बर १० लाई ४९ मा परिणत गराए । उनले भव्य स्वागत नगर्नका लागि अनुरोध गरे । ‘यो मेरो जिवनको नयाँ अध्याय हो । जब हाम्रो विरोध हुन्छ, तब हामी त्यस चिज छाड्छौँ । म यहाँ नयाँ चाहनाले आएको छु ।’ उनले भनेका थिए ।
त्यसपछि उनले मैदान भित्रबाट बढी चर्चा पाउन थाले ।
एट्लेटिकोका प्रशिक्षक कुकाले लियोनका खेलाडी खरिद गर्ने योजना बनाएका थिए, तर रोनाल्डिन्होलाई पाएपछि उनले अन्त आँखा लगेनन् । उनलाई त्यहाँ मुख्य जिम्मेवारी दिए, अत उनले बढि नतिजा दिन थाले ।
क्लबले सन् २०११ मा रेलिगेसन हुन ४ अंकले जोगिएको थियो । तर रोनाल्डिन्हो आएपछि क्लबले लिगमा दोश्रो स्थान हात पार्यो । क्लब १३ वर्षमा पहिलो पटक कोपा लिबर्टाडोरेसमा छनौट भयो । उनी लिगको उत्कृष्ट खेलाडी घोषित भए ।
उनले एभर्टनका विंगर बर्नार्ड र म्यान्चेस्टर सिटिका पुर्व स्ट्राइकर जोसँग खेल्दै कोपा लिबर्टाडोरेसमा ४ गोल गर्नुका साथै ७ एसिस्ट दिए । उनको प्रदर्शन प्रेरित एट्लेटिको पहिलो पटक फाइनल पुग्न सक्यो ।
‘उनीसँग खेल्नु भनेको तीन मुभमै चेकमेट गर्न सक्ने चेस खेलाडीसँग खेल्नु जत्तिकै थियो । उनले मलाई एसिस्ट गर्न नसके एक क्यारेट बियर किन्ने शर्त राख्दथे ।’ जोले एक टिभी अन्तर्वार्तामा खुलाए ।
जो त्यस प्रतियोगितामा सर्वाधिक गोलकर्ता बने । फाइनलमा एट्लेटिकोले ओलिम्पियालाई पेनाल्टीमा हराउँदै १९७१ पछि पहिलो उपाधी जित्यो ।
त्यस जितले रोनाल्डिन्होलाई विश्वकप, च्याम्पियन्स लिग, विश्व वर्ष खेलाडी, बालेन डी ओर तथा कोपा लिबर्टाडोरेस जित्ने एकमात्र खेलाडी बनायो ।
‘उनले २४ वर्षे करिअरमा ५ मध्य ४ शीर्ष उपाधी जिते । उनी निकै भाग्यशाली छन् । मैले कोपा लिबर्टाडोरेस नजिते पनि उनले जित्दा खुसी छु । यो उनको करिअरमा निकै महत्व राख्दछ ।’ रिभाल्डो भन्छन् ।
सन् २०१४ जुलाईमा उनले एट्लेटिको छाडेर मेक्सिको जाने निर्णय गरे । तर रोनाल्डिन्हो त्यहाँ धेरै टिकेनन् । उनले त्यहाँ ९ महिना खेले र उपाधि विहिन भएर फर्किए ।
त्यसपछि उनी फेरि ब्राजिल फर्किएर फ्लुमिनेन्समा जोडिए । तर त्यहाँ समेत जम्न नसकेपछि उनले सन् २०१५ सेप्टेम्बरमा आफ्नो सम्झौता रद्द गरिदिए ।
उनले ३७ वर्षको उमेरमा सन् २०१८ जनवरिमा सन्यास लिए । तर पनि उनलाई अफर आइरहे ।
गत जुनमा उनी ४० वर्ष उमेरको हुँदा र पाराग्वेको जेलमा रहँदा पनि अर्जेन्टिनी क्लब जिम्नासियाले प्रस्ताव गरेको थियो । जिम्नासियामा रोनाल्डिन्होका आदर्श म्यारोडोना प्रशिक्षक रहेका छन् ।
जसले रोनाल्डिन्होलाई आफ्नो आदर्श मानेका छन्, उनिहरुलाई रोनाल्डिन्होको यात्रा हेर्न निकै कठिन भएको हुन सक्छ । रोनाल्डिन्हो मैदानमा सधैं हाँसेर खेलेपनि अहिले उनको अवस्था निकै फरक छ । उनले बल लिएर गर्न सक्ने निर्णय जति कलमले गर्न नसक्दा अहिले कठिन अवस्थाबाट गुज्रिरहेका छन् ।
उनले हतारमा लिएका निर्णयले अहिले उनलाई दुख दिइरहेका छन् । सन् २०१८ मा उनी र उनका दाइ एसिसलाई वातावरण संरक्षण क्षेत्रमा ७० मिटरको संरचना बनाएको आरोपमा २ मिलियन जरिवाना तोकिएको थियो । उनीहरुले तिर्न मानेनन् । त्यसपछि उनीहरुको ५८ वटा सम्पत्ति र उनीहरुको पासपोर्ट र कागजात आर्थिक सहमति नहुँदासम्मका लागि खोसिएको थियो । अर्को वर्ष रोनाल्डिन्होकी पुर्व पत्नीले आधा सम्पत्ति हकदावी गर्दै मुद्दा हालिन् ।
उनी मार्चमा पक्राउ पर्नु अघि उनलाई क्रिप्टो करेन्सीको बढावा दिएको आरोपमा ५० मिलियन युरो जरिवाना तोकिएको थियो ।
उनी र एसिस पाराग्वेमा नक्कली पासपोर्ट लिएको आरोपमा पक्राउ परे । दाजु–भाइ ३२ दिन कारागारमा रहे, त्यसपछि १ दशमलव ६ मिलियन डलर तिरेर पाल्मारोगा होटेलमा स्थानान्तरण गरिए । त्यहाँ उनीहरु छानबिन नसकिँदासम्म बस्नु पर्ने थियो ।
रोनाल्डिन्हो कारागारमा रहँदा पाराग्वे फुटबल संघका पुर्व अध्यक्ष, जो भ्रष्टाचारको मुद्दामा जेलमा थिए, उनैसँग रहेर बित्यो । स्थानीय मिडियाले उनले कारागारमा रहँदा फुटवल खेलेर १६ किलोको बंगुर जितेको कुरालाई प्राथमिकताका साथ रिपोर्टिङ गरे ।
होटेलमा स्थानान्तरण गरेपछि उनी एक्लिएका छन् । तर त्यहाँ होटेल व्यवस्थापकले उनलाई फुटबल खेल्न ठाउँ बनाइदिएका छन् । उनको मुहारमा हाँसो त छ, तर उनी मनबाट मुस्कुराउन सकेका छैनन् ।
उनले आफ्नो खेल जीवन डिफेन्समा खाली ठाउँ खोजेर बिताए । अब उनले आफ्नो मुद्दामा देखिने खाली पक्ष रोक्नु छ, तबमात्र उनी ५ वर्ष जेल बस्नबाट जोगिन सक्नेछन् । उनीमाथिको अनुसन्धान सेप्टेम्बरमा सकिनेछ ।
- बीबीसीबाट अनिष भट्टराइले गरेकाे अनुवाद ।