एजेन्सी । फ्रान्क लाम्पार्डले लण्डन क्लब चेल्सीले प्रिमियर लिगका पछिल्ला च्याम्पियन लिभरपुल र म्यान्चेष्टर सिटीको स्तरमा पुग्न धेरै मेहनत गरिरहेको बताएका छन् ।
बुधबार राति वेस्ट ह्यामसंग स्तब्ध बनेका लाम्पार्डले सो कुरा बताएका हुन् ।
वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सी ३–२ ले पराजित बनेको थियो । रेलिगेशन जोनबाट बच्न संघर्षरत वेस्ट ह्यामसंग पराजयको नतिजाले लाम्पार्ड स्तब्ध छन् ।
पाहुना टोलीका लागि विलियनले दुई गोल गरेपनि चेल्सीको हार टार्न सकेनन् । चेल्सीको ५ खेलमा अपराजित यात्रमा समेत पूर्णविराम लागेको छ ।
चेल्सी तालिकाको चौथो स्थानमा छ । लण्डन क्लबले पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेड र वुल्भ्ससंग मात्र दुई अंकको अग्रता लिएको छ । च्याम्पियन्स लिग छनोटको दौडमा रहेका तीनै क्लबले ६ खेल खेल्न बाँकी छ ।

‘यस्तै केही चिज छ, जो यस सिजनमा केही पटक भएको छ ।’ अस्थिर देखिएको चेल्सीको प्रर्दशनबारे लाम्पार्डले भने ।
‘जस्तो अवस्था भएपनि हामीसंग दुरी कम गर्दै माथि उक्लिने अवसर प्राप्त छ । तर हामीले गर्न सकिरहेका छैनौ ।’ लाम्पार्डको स्विकारोक्ती छ ।
‘हामीलाई थाहा छ, लिभरपुल र म्यान्चेष्टर सिटीलाई भेट्न हामीले धेरै मेहनत गरिरहेका छौ । तर एकैनाशको नतिजा निस्कन नसक्दा समस्या परेको छ । हामीले यसैमा काम गर्नुपर्नेछ ।’ उनले थपे ।
‘यो स्पष्ट रुपमा निराशाजनक छ । हामी उक्लिएर अघि बढ्नुपर्नेछ । अर्को साता वाटफोर्डसंग खेल्नुछ । हामीले प्रयास गर्नुपर्नेछ ।’ उनले भने, ‘हामी च्याम्पियन्स लिगमा स्थान बनाउन लड्न र अघि बढ्ने बिषयमा सोच्नुपर्छ । जो हामीले गरिरहेका छौ ।’
चेल्सीले रेलिगेशन जोनबाट बच्न सघर्षरत वार्टफोर्डलाई शनिबार घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दैछ ।