एजेन्सी । पिएरी ईम्रिक अबुमियाङ चम्किएको खेलमा आर्सनलले नर्विच सिटीलाई हराएको छ ।
बुधबार राति भएको खेलमा आर्सनलले नर्विचलाई ४–० ले हराएको हो ।
तालिकाको पुछारमा रहेको नर्विचलाई हराउँदै आर्सनल तालिकाको सातौं स्थानमा उक्लिएको छ ।
अबुमियाङले ३३ औं मिनेटमा घरेलु टोली आर्सनललाई अग्रता दिलाएका थिए । गोलकिपर टिम क्रुलको गल्तीमा अबुमियाङले सहजै गोल गर्न सफल रहे ।
ग्रानिट जाकाले ३७ औं मिनेटमा लण्डन क्लबको अग्रता दोब्बर बनाउने काम गरे । साे गाेलका लागि अबुमियाङलेनै पास उपलब्ध गराएका थिए ।

अबुमियाङले ६७ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–० ले अघि बढाए । खेल सकिन ९ मिनेट बाँकी छदाँ सेड्रिक सोरेसले आर्सनलका लागि चौथो गोल गरे ।
अबुमियाङ प्रिमियर लिगमा ५० गोलको कोशेढुङ्गा चाँडो पार गर्ने आर्सनलको पहिलो खेलाडी बनेका छन् ।
लिगमा ६ चरणको खेल बाँकी रहदाँ नर्विच रेलिगेशन जोन भन्दा ७ अंकले तल छ । आर्सनलले ४६ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ ।