एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (बुधबार) विभिन्न चार खेल हुँदैछ ।
प्रिमियर लिगमा बुधबार चेल्सी, लेष्टर सिटी, आर्सनल र एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
शीर्ष चारमा रहेको चेल्सीले वेष्ट ह्याम युनाइटेडसँग खेल्दैछ । वेष्ट ह्यामको मैदानमा हुने खेल राति १ बजे सुरु हुनेछ ।
वेष्ट ह्यामको मैदानमा चेल्सी जित निकाल्दै आफ्नो शीर्ष चार बलियो बनाउने योजनामा हुनेछ ।
अघिल्लो खेलमा म्यानचेस्टर सिटीलाई हराएको चेल्सी वेष्ट ह्यामविरुद्ध उच्च मनोबलमा हुनेछ ।
वेष्ट ह्यामलाई पराजित गरे र लेष्टर सिटी पराजित वा बराबरीमा रोकिएमा चेल्सी तेस्रो स्थानमा समेत उक्लनेछ ।
चेल्सीले ३१ खेलमा ५४ अंक जोडेको छ । तेस्रो स्थानको लेष्टरको ५५ अंक रहेको छ ।
लेष्टरले बुधबार नै एभर्टनसँग खेल्नेछ । लेष्टरले जित निकालेमा चेल्सी चौंथो स्थानमै रहनेछ ।
२७ अंक जोडेको वेष्ट ह्याम १७ औं स्थानमा रहेको छ ।
लिग अन्तर्गत नै आर्सनलले नर्विच सिटीसँग खेल्नेछ । आर्सनलले घरेलु मैदानमा नर्विचसँग खेल्नेछ ।
दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा आर्सनल जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।
लिगको दशौँ स्थानको आर्सनलले ४३ अंक जोडेको छ । २१ अंक जोडेको नर्विच पुछारमा रहेको छ ।
अर्को खेलमा बर्नेमाउथले न्युकासलसँग खेल्नेछ ।