एजेन्सी । सिरि ए फुटबलमा ईन्टर मिलानले सफलता प्राप्त गरेको छ ।
आईतबार राति भएको खेलमा ईन्टरले पर्मालाई २–१ गोल अन्तरले हराएको हो ।
घरेलु टोलीले जर्विन्होको गोलमा सुरुवाती अग्रता लियो । खेलको ८४ औं मिनेटमा स्टेफन डी वर्जले बराबरी गोल फर्काए । खेल सकिन तीन मिनेट अघि एलेसेन्ड्रो बस्तोनीले गोल गर्दै ईन्टरलाई लिगको उपाधि होडमा कायम राखे ।
पुनरागमन जित सहित ईन्टरले युभेन्ट्स र लाजियोसंगै आफुलाई समेत उपाधि होडमा कायमै राखेको छ ।
ईन्टर ६१ अंक सहित तेस्रो स्थानमा छ । क्लब शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछाडी छ । पर्मा ३९ अंक सहित नवौं स्थानमा छ ।

अन्य खेलमा मिलान क्लबले रोमालाई २–० ले हरायो । मिलानको जितमा आन्टी रिबिक र हकन काल्होलोगोले गोल गरे । यस्तै, नापोलीले स्पेलमाथि ३–१ को जित आत्मसाथ गर्यो । नापोलीको जितमा ड्राईस मार्टिन्स, जासे मारिया कलिजन र अमिन युन्सले गोल गरे । स्पेलका एन्ड्रिया पेटागनाले एक गोल फर्काए ।
अर्को खेलमा एटलान्टाले युडिनिजमाथि ३–२ को प्रतिस्पर्धात्मक सफलता हासिल गर्यो । दुवान जापाटाले नवौं मिनेटमा पाहुना टोली एटलान्टालाई सुरुवाती अग्रता दिलाए । केभिन लसग्नाले घरेलु टोलीबाट बराबरी गोल फर्काए ।
एटलान्टाका लुईस मुरिलले लगातार दुई गोल गर्दै पाहुना टोलीलाई ३–१ को अवस्थामा पुर्याएका थिए । खेल सकिन तीन मिनेट अघि जापाटाले घरेलु टोलीका लागि ब्यक्तिगत दोस्रो गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
संघर्षपूर्ण जित सहित एटलान्टा ५७ अंक सहित चौथो स्थानमा थप मजबुद बन्यो । उसले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनायो । युडिनिज २८ अंक सहित १४ औं स्थानमा रह्यो । क्लब रेलिगेशन जोन भन्दा मात्र तीन अंकले माथि छ ।