एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा यस सिजन बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की सर्वाधिक गोलकर्ता बनेका छन् ।
च्याम्पियन टिम बायर्नका फरवार्ड लेवान्डोस्की यस सिजन ३४ गोल गर्दै बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता चुनिएका हुन् ।
लिगको अन्तिम खेलमा शनिबार वोल्फ्सबर्गविरुद्ध एक गोल गर्दै उनले आफ्नो गोल संख्या ३४ पुर्राएका हुन् ।
पोल्याण्डका ३१ वर्षे फरवार्ड लेवान्डोस्कीले यस सिजन ३४ खेलमा ३४ गोल गर्दै ४ गोलका लागि पास मिलाईदिएका थिए ।

उनले यस सिजन बायर्नलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
लेवान्डोस्की लगातार तेस्रो वर्ष सर्वाधिक गोलकर्ता चुनिएका हुन् । यस्तै उनले पाँचौ पटक सर्वाधिक गोलकर्ताको अवार्ड जिते ।
लेवान्डोस्की यस सिजन प्लेयर अफ दि सिजन समेत चुनिएका थिए ।
यस सिजन बायर्नले बोरुसिया डर्टमण्डलाई १३ अंकले पछि पार्दै लगातार आठौं पटक उपाधि जितेको हो ।
यस्तै बायर्नले समग्रमा ३० औं पटक लिगको उपाधि आफ्नो बनाउन सफल भयो ।