एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले घरेलु मैदानमा फराकिलो हार व्यहोरेको छ ।
यस सिजनको अन्तिम लिग खेलमा डर्टमण्ड होफेनहाइमसँग ४-० गोल अन्तरले पराजित भएको हो ।
डर्टमण्डको मैदानमा होफेनहाइमलाई जित दिलाउन आन्द्रेज कर्मारीचले ह्याट्रिकसहित चार गोल गरे ।
खेलको आठौं मिनेटमा आन्द्रेजले गोल गर्दै होफेनहाइमलाई सुरुवाती अग्रता दिलाए । ३० औं मिनेटमा आन्द्रेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

४८ औं मिनेटमा आन्द्रेजले ह्याट्रिक पुरा गर्दै टोलीको अग्रता ३-० को बनाए । त्यसपछि खेलको ५० औं मिनेटमा पाएको पेनाल्टीमा आन्द्रेजले व्यक्तिगत चौंथो गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
घरेलु मैदानमा फराकिलो हार व्यहोरेपनि डर्टमण्डले दोस्रो स्थानमा रहेर यस सिजनको अन्त्य गरेको छ ।
डर्टमण्डले ३४ खेलमा ६९ अंक जोड्यो । होफेनहाइम ५२ अंक जोडेर छैटौं स्थानमा रह्यो ।

अन्य खेलमा तेस्रो स्थानको आरबी लाइपजिगले आउग्सबर्गलाई २-१ ले हराएको छ ।
त्यस्तै बोरुसिया मुन्छेनग्लाडबाखले हेर्था बर्लिनलाई २-१ ले पराजित गर्दा बायार लेवरकुसनले माइन्जलाई १-० ले हराएको छ ।
आइनट्राख्ट फ्रान्कफुर्टले पार्डाबोनलाई ३-२ ले पराजित गर्दा साल्के फ्राइबर्गसँग ४-० ले पराजित भएको छ ।
युनियन बर्लिनले फोर्टुना डुसलडोर्फलाई ३-० र भेरडाआ ब्रेमेनले कोल्नलाई ६-१ ले हराएको छ ।