आहा ! रारा फाइनल : मनाङविरुद्ध पुलिस 'हेड टु हेड'

मनोज थापा
पोखरा । मोफसलको बहुप्रतिक्षित प्रतियोगिता आहा ! रारा गोल्डकप फुटबलको उपाधि भिडन्त आज (शनिबार) हुँदैछ ।
पोखरा रंगशालामा अपरान्ह हुने फाइनलमा भिड्दै छन् - मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब ।
आहा राराकै दुई सफल टोलीको नजर उपाधिमा हुनेछ । र, दुवै टिम सर्वाधिक धेरै पटक उपाधि जित्ने कीर्तिमान कायम गर्ने लक्ष्यमा हुनेछन् ।
क्याराभान गोल्डकपलाई छाड्ने हो भने मनाङ र पुलिसले समान ५/५ पटक उपाधि जितेका छन्। क्याराभानसहित भने पुलिस ६ पटक च्याम्पियन बनेको छ ।
सहारा क्लब पोखराले पहिलो पटक २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट प्रतियोगिताको सुरुवात गरेको थियो । त्यसको एक वर्षपछिबाट भने प्रतियोगिता आहा गोल्डकपबाट नियमित हुन थालेको थियो ।
पहिलो संकरणको क्याराभान गोल्डकप पुलिसले जितेको थियो । त्यसलाई मान्ने हो भने पुलिसले प्रतियोगिता कुल ६ पटक जितेको छ । तर, आहा गोल्डकप भएपछि भने पुलिसले ५ पटक उपाधि जितेको छ । मनाङले पनि ५ पटक उपाधि जितेको छ ।
क्याराभानसहित जोड्दा १८ संस्करणमध्ये १६ उपाधि पुलिस, मनाङ र थ्री स्टार क्लबले जितेका छन् । त्यसबाहेक २ वटा क्लबले मात्र आहा रारा गोल्डकप जितेका छन् ।
पुलिस, मनाङ र थ्री स्टार बाहेक अफ्रिकन मुलका खेलाडी सम्मिलित अफ्रिकन युनाइटेडले २०६२ र आयोजक सहाराले २०७० मा उपाधि जितेको थियो ।
सर्वाधिक पटक उपाधि जित्ने लक्ष्यमा रहेको पुलिस र मनाङ दुवै टिमले सर्वाधिक फाइनल समेत खेलेका छन् । आठ पटक फाइनल पुग्दा पुलिस ३ पटक उपविजेता बनेको छ । यस्तै १० पटक फाइनल पुग्दा मनाङ ५ पटक उपविजेता बनेको छ ।
पुलिस र मनाङले आहा रारामा हालसम्म ७ पटक खेलेका छन् । जसमा मनाङले सर्वाधिक धेरै ४ पटक जितेको छ । यस्तै पुलिसले ३ खेल जितेको छ । फाइनलमा भने दुई टोलीबीच तीन पटक प्रतिस्पर्धा भएको छ । फाइनलको तीन भेटमा मनाङले २ र पुलिसले १ खेल जितेको छ ।
प्रतियोगितामा मनाङले हालसम्म कुल ४५ खेल खेलेको छ । त्यसमा ३४ जित निकाल्दा ११ हार व्यहोरेको छ । यस्तै ९० गोल गर्दा ३५ गोल खाएको छ । पुलिसले ४१ खेलमा ३० जित निकाल्दा ११ हार व्यहोरेको छ । ६९ गोल गर्दा ३६ गोल खाएको छ ।
उत्कृष्ट खेलाडी ?
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अवार्डमा भने पुलिस अगाडी छन् । पुलिसका ६ खेलाडीले सर्वोत्कृष्ट अवार्ड जितेका छन् । पुलिसका पूर्व स्ट्राइकर हरि खड्का (२०५८), दिपक पौडेल (२०६१), अनन्त थापा (२०६२), रितेश थापा (२०६६), जुमनु राई (२०६५) र रबि पासवान (२०७४ )ले यस अवार्ड जितेका छन् ।
मनाङका भने बसन्त थापा (२०६०) र विश्वास श्रेष्ठ (२०७२) ले यस अवार्ड जितेका छन् ।
सर्वाधिक गोलकर्तामा भने मनाङका खेलाडी अघि रहेका छन् । मनाङका बसन्त थापा (२०६१), निरोधीन स्लोया (२०६३) सुजल श्रेष्ठ (२०६७,२०७०, २०७१), अनिल गुरुङ (२०७१) र ओलावाले (२०७२) रहेका छन् ।
यस्तै पुलिसका देव नारायण चौधरी (२०५९), अनन्त थापा (२०६०/२०६४), जुमानु राई (२०६५) र सुमन लामा (२०७५) रहेका छन् ।
कुन सालमा को विजेता ?
२०५८- पुलिस (क्याराभान गोल्ड कप)
२०५९ - पुलिस
२०६० - मनाङ
२०६१ - मनाङ
२०६२-अफ्रिकन युनाइटेड
२०६३- थ्री स्टार
२०६४ - पुलिस
२०६५-पुलिस
२०६६-पुलिस
२०६७-थ्री स्टार
२०६८- मनाङ
२०६९-थ्री स्टार
२०७०- सहारा
२०७१ -थ्री स्टार
२०७२ - मनाङ
२०७३ - मनाङ
२०७४ - पुलिस
२०७५ - थ्री स्टार क्लब