नयाँ बस्तीको दोस्रो जित

काठमाडौं । नयाँ बस्ती युवा क्लबले सहिद स्मारक 'बी' डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार श्री भगवती क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँ बस्तीले दोस्रो जित निकालेको हो ।
नयाँ बस्तीको जितमा सचु गुरुङ र संजोक राईले एक एक गोल गरे । भगवतीका लक्ष्मण जिसीले सान्त्वना गोल फर्काए ।
खेलको ३० औं मिनेटमा सचुले गोल गर्दै नयाँ बस्तीलाई अग्रता दिलाए । सचुले कर्नरबाट आएको बललाई डिबक्स बाहिरबाट हाफ भलीमा आकर्षक गोल गरेका थिए ।
दोस्रो गोल खेलको ६६ औं मिनेटमा सम्भव भयो। वैकल्पिक खेलाडी संजोकले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेल २-० को बनाए ।
खेलको ८४ औं मिनेटमा लक्ष्मणले पेनाल्टीमा एक गोल फर्काए पनि भगवतीको हार टार्न सकेनन् ।
नयाँ बस्तीका पेम्बा नुर्बु लामाले डिबक्स भित्र ह्यान्डबल गरेपछि रेफ्री रोजेन्द्र खड्गीले भगवतिलाई पेनाल्टी दिएका थिए । जसमा लक्ष्मणले सहज गोल गरे ।
तर, नयाँ बस्तीले इन्जुरी समयमा एक पेनाल्टी खेर फालेको थियो । उसका कप्तान मोहन गुरुङले प्रहार गरेको पेनाल्टी भगवतीका गोलरक्षक अमन्त शेखले बचाएका थिए ।
भगवतीमाथिको जितसँगै नयाँ बस्ती पाचौं स्थानमा उक्लिको छ । उसको ४ खेलबाट ५ अंक रहेको छ ।
भगवती ४ खेलबाट ४ अंकसहित सातौं स्थानमा रहेको छ ।