काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
मछिन्द्रको जितमा विशाल राई 'बी' र रञ्जित धिमालले एक एक गोल गरे । एपीएफका रमेश दंगालले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता उल्टाएर मछिन्द्रले जित निकालको हो ।
रोमान्चक बनेको खेलको ४३ औं मिनेटमा रमेशको गोलबाट एपीएफले अग्रता बनाएको थियो । राजिब लोप्चनलाई पिटर सेगुनले लडाएपछि पाएको फ्रिकिकमा रमेशले हेड गोल गरेका थिए । नवीन लामाको फ्रिकिकलाई रमेशले पोस्टको दिशा दिएका थिए ।

दोस्रो हाफमा भने मछिन्द्र खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा विशालले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । रञ्जित धिमालको कर्नरमा विशालले सुन्दर गोल गरेका थिए ।
त्यसपछि खेलको ८० औं मिनेटमा मछिन्द्रले पेनाल्टी प्राप्त गर्यो । डिफेन्डर पिटर सेगुनलाई एपीएफका खेलाडीले डिबक्सभित्र फउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए । तर, रञ्जितले पेनाल्टीमा गोल गर्न सकेनन् ।
पहिलो प्रहार एपीएफका गोलरक्षक राजु योगीले बचाएपछि आएको रिबाउण्डमा रञ्जितले गोल गरे । जुन गोल मछिन्द्रको जितमा निर्णायक बन्यो ।
खेलमा मछिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दि म्याच चुनिए ।

जितसँगै मछिन्द्रले १० खेलमा २२ अंक जोडेको छ । र, मछिन्द्रले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबमाथि २ अंकको अग्रता बनाएको छ । ९ खेलमा आर्मीको २० अंक रहेको छ ।
एपीएफ १० खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले दोस्रो हाफमा रणनीति सफल हुँदा जित निकाल्न सफल भएको बताए ।
'एपिएफलाई पनि रेलिगेशनको डर छ । हामीलाई पनि उपाधिको दबाब छ । गोल खाएपनि खेलमा फर्कियौं । खुसी छु । दोस्रो हाफको रणनीति सफल भयो,' उनले भने, 'खेलाडीको चोटले समस्या भयो । सुजल र रेजिनलाई जोखिम मोलेर खेलाएको थिए । अबको सबै खेलमा दबाब हुनेछ ।'
एपीएफका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले समग्रमा खेलाडीले राम्रो प्रदर्शन गरेको बताए ।
'पहिलो हाफ राम्रो खेल्यौं । दोस्रो हाफमा उनीहरुले दबाब दिन्छ भनेर चेन्जिङ रुममा भनेको थिए । सुरुमै राम्रो डिफेन्स नहुँदा गाह्रो भयो,' उनले भने, 'राम्रो खेल भयो । उनीहरुलाई रोक्न खेलेका थियौं। सकेनौ । समग्रमा प्रदर्शन राम्रो भयो ।'
मछिन्द्र प्लेईङ सेट -
रञ्जित धिमाल, विशाल राई 'बी',विशाल श्रेष्ठ,देवेन्द्र तामाङ, रेजिन सुब्बा, सुजल श्रेष्ठ,एडिलाजा सोमिडे,पिटर सेगुन,विजय धिमाल, योगेश गुरुङ, विशाल राई 'ए'
एपीएफ प्लेईङ सेट -
मिलन राई, नविन लामा,रमेश दंगाल,आशिष लामा,राजन गुरुङ,बुद्धिमान राई, टोप बहादुर बिष्ट,राजिब लोप्चन,आकाश बुढामगर,राजु योगी,प्रदिप लामा