काठमाडौं । सरस्वती युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ४-३ गोल अन्तरले पराजित गर्दै सरस्वतीले लिगमा पहिलो जित निकालेको हो ।
सरस्वतीले लिगमा ९ खेलपछि पहिलो ३ अंक जोडेको हो । सरस्वतीको जितमा काजिम बुसारीले दुई गोल गरे । यस्तै विनोद केसी र मनिष थापाको नाममा एक एक गोल रह्यो ।
शेर्पाका आशिष गुरुङ, रबि थापा मगर र विजय श्रेष्ठले एक एक गोल फर्काए ।
रोमान्चक बनेको खेलको पाँचौं मिनेटमा बुसारीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए । १० औं मिनेटमा आशिषले गोल गर्दै शेर्पालाई १-१ को बराबरीमा ल्याए ।
खेलको ३५ औं मिनेटमा विनोदले गोल गर्दै सरस्वतीलाई २-१ को अग्रता दिलाए । तर, ४५ औं मिनेटमा शेर्पाका विजयले गोल गर्दा पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको थियो ।
खेलको ८३ औं मिनेटमा बुसारीले व्यक्तिगत दोस्रो गोल गर्दै सरस्वतीलाई ३-२ को अग्रता दिलाए । ८८ औं मिनेटमा मनिषले गोल गर्दा सरस्वती ४-२ ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा शेर्पाका रबिले गोल गरेपनि सरस्वती ४-३ ले विजयी भयो ।
खेलमा सरस्वतीका बुसारी म्यान अफ दि म्याच चुनिए ।
जितसँगै सरस्वतीले ९ खेलमा ४ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा यथावत रहेको छ ।
शेर्पा ९ खेलमा ७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?
शेर्पाका प्रशिक्षक सन्जिब बुढाथोकीले टिमको अबको लक्ष्य रेलिगेसनबाट जोगिने भएको बताए ।
'आज खेल्न सकेनौं । गोल पनि भएको हो । खेलाडीले ड्युटी निभाएको छैन । राम्रो खेल्न सकेनौं,' उनले भने, 'अब माथि उक्लने भन्दा पनि रेलिगेसनबाट जोगिन खेल्नेछौँ ।'
सरस्वतीका प्रशिक्षक प्रदिप नेपाल महत्वपूर्ण खेलमा ३ अंक आएकोमा खुशी देखिए ।
'आज तीन अंक आवश्यकता थियो । सफल भएका छौँ । खेल राम्रो भयो । गोल भयो खुसि छु,' उनले भने, 'आज हारेको भए रेलिगेसनमा हुने थियौं । त्यसैले पनि धेरै गोल निस्कियो ।'
हिमालयन शेर्पा क्लब : किशोर गिरी, मानबहादुर तामाङ, विजय श्रेष्ठ, रवि थापा मगर, कमल थापा मगर, सुरज हमाल, खामिर गिल्सन कन्दङ्वा, स्टेपिन समिर, ड्युबिनी, आर्दश लामा, आशिष गुरुङ, उल्रीच सिवी ।
सरस्वती युथ क्लब : एन्ड्री एकिम, दिपेश श्रेष्ठ, निशान माझी, सुसन लामा, मनिष थापा, पुर्ण श्रेष्ठ, बिनोद केसी, कृण्ण रानाभाट, बर्सात गुरुङ, विण्णुकुमार केसी, काजिम सुसारी ।