काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत सातौं चरणका खेल भोली शुक्रबारबाट सुरु हुँदैछ ।
लिगको छैटौं चरण सकिएको दुई दिनपछि पुनः सातौं चरणको खेल सुरु हुन लागेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले सातौं चरणको खेल तालिका सार्वजनिक गरिसकेको छ ।
सातौं चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
सातौं चरणको पहिलो दिन एक मात्र खेल हुनेछन् । पहिलो दिन शुक्रबार लिग लिडर मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ ।

दिउँसो ३ बजे सुरु हुने खेलमा मछिन्द्र शेर्पालाई हराउँदै आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा हुनेछ । लिगमा अपराजित मछिन्द्रले १३ अंक जोडेको छ । लिगमा मछिन्द्रले ६ खेलमा ४ जित र २ बराबरी खेलेको छ ।
शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ । १३ औं स्थानको शेर्पाले ६ खेलमा २ हार र ४ बराबरीसहित ४ अंक जोडेको छ ।
लिगको दोस्रो दिन शनिबार दुई खेल हुनेछ । अपरान्ह १२ बजे हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगको ६ खेलमा ९ अंक जोडेको जावलाखेल पाँचौं स्थानमा रहेको छ । ६ खेलमा ८ अंक जोडेको पुलिस लिगको सातौं स्थानमा रहेको छ ।

शनिबार दिउँसो तीन बजे दुई ठुला क्लब भिड्ने छन् । साविक विजेता तथा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
चिरपरिचित दुई प्रतिद्वन्द्वीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । तेस्रो स्थानको मनाङ थ्री स्टारलाई हराएर उपाधि होड कायम राख्न चाहन्छ । लिगमा अपराजित रहेको मनाङले ६ खेलमा १२ अंक जोडेको छ ।
यत, थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ । थ्री स्टार मनाङलाई हराएर शीर्ष तीनमा उक्लने योजनामा हुनेछ ।

सातौं चरणको खेल अन्तर्गत आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ । एनआरटी ८ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ । एपीएफ ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
आइतबार हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ । फ्रेन्ड्स ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ । सरस्वती भने १ अंक जोडेर पुछारमा रहेको छ ।
सातौं चरणको अन्तिम दिन सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र संकटा क्लबबीच खेल हुनेछ । ब्रिगेड ७ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । ८ अंक जोडेको संकटा आठौं स्थानमा रहेको छ ।

सातौं चरणको अन्तिम खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । आर्मी १३ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । च्यासल ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
खेल तालिका :
