एजेन्सी । क्रोएसियाका फरवार्ड मारियो मान्डजुकिक कतारी क्लब अल दुहालमा अनुबन्धित भएका छन् ।
इटालियन च्याम्पियन युभेन्ट्सबाट अल दुहालले मान्डजुकिकलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
सन् २०२१ सम्म क्लबमा रहने सम्झौता गरेका ३३ वर्षे फरवार्ड मान्डजुकिकलाई बुधबार कतार स्टार लिग लिडर क्लब अल दुहालले अनुबन्ध गरेको जनाएको छ । क्लबले सामाजिक संजाल ट्वीटरबाट मान्डजुकिकलाई अनुबन्ध गरेको जनाएको छ ।
युभेन्ट्ससँगको सम्झौता नसकिदै क्लब छाडेका मान्डजुकिक र क्लबको थप सम्झौताबारे भने खुलाईएको छैन ।

पछिल्लो समय इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड जाने हल्ला चलिरहेको समय मान्डजुकिकले कतारी क्लबसँग सम्झौता गरेका हुन् ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट सन् २०१५ मा युभेन्ट्स आएका मान्डजुकिकले १ सय ६२ खेलमा ४४ गोल गरेका थिए ।
उनले जर्मनीको वायर्न म्युनिख र वुल्फबर्गबाट समेत खेलेका थिए ।
रुसमा भएको फिफा विश्वकप फुटबलमा क्रोएसियालाई फाइनलसम्म पुर्राउन मान्डजुकिकले महत्वपूर्ण भूमिका खेलेका थिए । तर, फाइनलमा क्रोएसिया फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित भएको थियो ।
अल दुहाल कतारी लिगको शीर्ष स्थानमा रहेको छ । दुहालले ९ खेलमा २९ अंक जोडेको छ ।