काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सुपर ओभरको नियम परिवर्तन गरेको छ ।
दुबईमा सोमबार बसेको आईसीसीको बैठकले सुपर ओभरको नियम परिवर्तन गरेको हो । बोर्ड बैठकले सेमिफाइनल र फाइनल खेलका लागि सुपर ओभरको नयाँ नियम बनाएको हो ।
नयाँ नियम अनुसार सुपर ओभर पनि बराबर भए पुनः सुपर ओभर खेलाइनेछ । दुई मध्ये एक टिमले सुपर ओभरमा बढी रन नबनाएसम्म पुनः सुपर ओभर खेलाउने आईसीसीले नियम बनाएको हो ।
यसअघि सुपर ओभर बराबरी भए सर्वाधिक बाउण्ड्रीका आधारमा विजयी घोषणा गरिने नियम थियो ।
इंग्ल्याण्ड सम्पन्न एकदिवसीय विश्वकपमा सुपर ओभर बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्डले न्युजिल्यान्डलाई हराएर उपाधि जितेको थियो । तर, त्यस नियमको निकै आलोचना भएको थियो ।