एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ ।
आइतबार भएको खेलमा सिटी वुल्भ्ससँग २-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा सिटी स्तब्ध भएको हो । वुल्भ्सलाई जित दिलाउन आडमा ट्राओरेले दुई गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा ट्राओरेले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा ट्राओरेले व्यक्तिगत दोस्रो गोल गर्दै वुल्भ्सलाई २-० को जित दिलाए।

घरेलु मैदानमा पराजित भएसँगै सिटीले लिग लिडर लिभरपुलसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । दोस्रो स्थानको सिटीले ८ खेलमा १६ अंक जोडेको छ । सिटी लिभरपुल भन्दा ८ अंकले पछि छ । लिभरपुलको २४ अंक छ ।
सिटीलाई उसैको घरेलु मैदानमा हराएको वुल्भ्सले ८ खेलबाट १० अंक जोडेको छ । वुल्भ्स ११ औं स्थानमा छ ।

