एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इन्ग्लिश क्लब लिभरपुलले आज (बुधबार) राति अस्ट्रियाको क्लब साल्जवर्गसँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले घरेलु मैदानमा साल्जवर्गको सामना गर्नेछ । लिभरपुल र साल्जवर्गबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
एनफिल्डमा मैदान उत्रदा लिभरपुल पहिलो अंकको खोजीमा हुनेछ । पहिलो खेलमा पराजित लिभरपुल घरेलु मैदानमा स्पष्ट ३ अंक जोड्ने लक्ष्यमा हुनेछ ।
लिभरपुल समूह चरणको पहिलो खेलमा नापोलीसँग २-० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा लिभरपुल उक्त हार बिर्साउने योजनामा हुनेछ ।
समूह 'ई' मा पुछारको लिभरपुलले अंक जोड्न सकेको छैन ।
पहिलो खेलमा शानदार जित निकालेको साल्जवर्ग दोस्रो खेलमा उक्त प्रदर्शन कायम राख्ने योजनामा हुनेछ । पहिलो खेलमा साल्जवर्गले जेन्कलाई ६-२ गोल अन्तरले हराएको थियो । तर, घरेलु टिम लिभरपुलविरुद्ध साल्जवर्गलाई सहज भने छैन । साल्जवर्ग ३ अंक जोडेर शीर्ष स्थानमा छ ।
यसै समूहको अर्को खेलमा नापोलीले जेन्कसँग उसैको मैदानमा खेल्नेछ । नापोली लगातार दोस्रो जितको खोजीमा हुनेछ ।