पोखरा । २० औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसले मेन्स र वुमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षक भुषण बज्रचार्य र वुमेन्सतर्फ सुनिरा थापा च्याम्पियन भएका हुन् ।
सोही प्रतियोगिताको १८ औं र १९ संस्करणका च्याम्पियन समेत रहेका नेपालका नम्बर वरियताका प्रदिप खड्काको दबदवालाई आफ्नै होम ग्राउण्डमा टाइब्रेक म्याचमा २–१ ले हराउँदै संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदिपको सपनामा ब्रेक लगाए ।
पोखरा रंगशालाको टेनिस कम्लेक्समा सम्पन्न फाइनलमा प्रदिप विरुद्ध पहिलो सेट ६–४ ले जित हात पारेका संरक्षकले दोश्रो सेटमा भने २–६ ले प्रदिपलाई सुम्पिए तर तेश्रो तथा अन्तिम सेटमा ७–६, (७–५) ले संघर्षपूर्ण जित निकाल्दै नगद ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे । उपविजेता बनेका प्रदिपले नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा सोही इभेन्टमा सेमीफाइनालिष्टद्वय ऋतिक राना र अभिनन्सु ठाकुरले जनही नगद ५–५ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।
वुमेन्सतर्फ समेत गत संस्करणकी समेत च्याम्पियन नेपाल एक वरियताकी अभिलाषा विष्टलाई सुनिरा थापाले टाइब्रेकमा नै पराजित गरीन् । सनसनीपूर्ण फाइनलमा सुनिराले पहिलो सेट ६–० ले अभिलाषालाई सुम्पिए पनि दोश्रो सेट सम्हालिएर खेल्दै ६–१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किइन । अन्तिम सेट ६–४ ले जिते पछि अभिलाषाको दोश्रो पटक च्याम्पियन हुने सपनामा ब्रेक लाग्यो । च्याम्पियन बनेकी सुनिराले नगद ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा सोही इभेन्टमा सेमीफाइनालिष्ट द्वय माहिका राना र रायना शाहले जनही नगद ५–५ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।
प्रतियोगितामा अन्तर्गत नै भएको ३५ वर्ष माथीको भेट्रान्स मेन्स सिंगल्सतर्फ कमल भण्डारी विजेता बनेका छन् । उनले फाइनलमा सन्तोष खत्रीलाई ७–५ र ६–४ ले पराजित गरे । उपाधि विजेता कमलले नगद ६० हजार, उपविजेता सन्तोषले नगद ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गरेका छन् ।
![](https://demo.khelpati.com/uploads/editor/2023-12-31/130442161pokhara tennis.jpg)
४५ वर्ष माथीको भेट्रान्स मेन्स सिंगल्सतफको रोहित सुनुवारले फाइनलमा महेश श्रेष्ठलाई सुपरटाई म्याचमा हराउँदै उपाधि जिते । पहिलो सेट ५–७ ले गुमाएका रोहितले दोश्रो सेट सहज रुपले ६–१ ले जित्दै खेल बराबरीमा ल्याउँदै सुपरटाईतर्फ खेल धेकिलिंदा रोहितले १०–७ ले खेल जित्न सफल भए ।
सोही प्रतियोगितामा सेमीफाइनालिष्ट द्वय प्रदिप शाह र गोपी भट्टराई रहेका छन् । उपाधि जितेका रोहितले नगद ४० हजार, उपविजेता महेशले नगद २० हजार र सेमीफाइनालिष्ट द्वय प्रदिप र गोपीले जनही नगद ५–५ हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।
५५ वर्ष माथी मेन्स सिंगल्सको उपाधि विजेता बन्न सफल बिमल कुमार गुरुङले फाइनलमा प्रतिद्वन्दी जिवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे । उपाधि विजेताले बिमलले नगद ३० हजार, उपविजेता जिवनले नगद १५ हजार, सेमीफाइनालिष्ट खेलाडी द्वय समिर शेरचन र थोङवाम तुलेश्वरले जनही नगद ५–५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।
प्रतियोगितामा बिजेता खेलाडीहरुलाई प्रतियोगिता मुख्य प्रायोजक संस्था माछापुच्छ्रे बैंककी निर्देशक बन्दना केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा, कास्की खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, ट्रयाङ्क्वालिटी स्पाका प्रवन्ध निर्देशक रनिल फैजुलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।