सुर्खेत । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले कर्णालीको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुदको लागि तयार भैरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन्।
उदघाटन र समापन हुने प्रमुख रङ्गशाला, पौडी पोखरी, नव निर्मित कभर्ड हल, ब्यान्डमिन्टन हल लगायतका संरचनाको निरीक्षणसँगै मन्त्री श्रेष्ठले प्रगति विवरणको बारेमा जानकारी लिएका हुन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सञ्जायलले पुर्वाधारको अवस्थाको बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए । उनले रङ्गशालाको ८० प्रतिशत काम सम्पन्न भैसकेको र असारभित्र सेन्थेटिक ट्रयाक बाहेक सबै काम सम्पन्न हुने जानकारी गराए।
बनिरहेका अन्य संरचनाहरू पनि समयमा नै बनिसक्ने सञ्जालले बताए। रङ्गशाला लगायत क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल कोर्ट, रग्बी मैदान, फुटबल मैदान, ह्यान्डबल, स्कावास कोर्ट, पौडी पोखरी जस्ता करिब एक दर्जन नयँ खेलकुद संरचना अहिले निर्माण भैरहेको छ।
निरीक्षण पश्चात युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले तोकिएकै समयमा दशौं आयोजना हुने बताए। सबै जुटेर यो अवसरलाई पर्वको रूपमा मनाउन सबैलाई आग्रह गरे। विशेषगरी आवास नै प्रमुख चुनौती हुन सक्ने भन्दै यसमा योजना बनाएर नै काम गर्नुपर्नेमा जोड दिए।
भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रिया अघि बढाइसकेको पनि जिकिर गरे।
सोही अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषदले संभावित खेल हुने स्थानको बारे जानकारी गराएको छ। विभिन्न नौ जिल्लामा ३० खेल खेलाउन तयार रहेको र ६ खेल खेलाउन नसक्ने कर्णाली प्रदेश खेलकुद विकास परिषदले जानकारी गराएको छ।
![](https://demo.khelpati.com/uploads/editor/2024-06-10/082623546biraj karnali 01.jpeg)
नवौंमा समावेश ३६ खेल मध्ये लन टेनिस, सुटिङ, जिम्नास्टीक, सफ्ट टेनिस, ट्रायथलन र गल्फको कुनै पनि पुर्वाधार कर्णालीमा नभएकोले यी खेल कर्णालीमा हुन नसक्ने परिषदले जानकारी गराएको छ।
निरीक्षण पश्चात मन्त्री श्रेष्ठले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री वीर बहादुर शाही, नगर प्रमुख मोहन माया ढकालसँग छलछलफल गरेका छन्।
मन्त्री नेतृत्वमा टोलीमा राखेपका सदस्य सचिव टंकलाल घिसिङ, सचिव सुमनराज अर्याल, राखेप बोर्ड सदस्य अन्जन धमला लगायत समावेश छन् ।