काठमाडौं । केटीएम सिटीले खेलकुदको मोबाईल एप्लिकेशन प्लेस्काउटसँग सहकार्य गरेको छ ।
खेलकुदको भेन्यु बुकिङ्ग र भेन्यु ब्राण्डिङको सेवा दिदै आएको प्लेस्काउटसँग केटीएम सिटीले सोमबार साझेदारी गरेका हो ।
केटीएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा नेर्बु शेर्पा र प्लेस्काउटका प्रमुख कार्यकारी अधिकृत नवाङ्ग निमा लामाले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
प्लेस्काउटका सिइयो लामाले नेपालको घरेलु ब्राण्ड केटीएम सिटीलाई हरेक इन्डोर खेल स्थलमा ब्राण्डिङ गर्नेदेखि खेल स्थलमै सामान राख्ने सेवा सहित सम्झौता भएको बताए ।
‘प्लेस्काउट मुख्य रुपमा मोबाईल एप हो । यसले स्पोर्टस भेन्युको बुकिङ्ग गर्ने काम गर्छ । र इन्डोर स्पोर्टसको ब्राण्डिङ एजेन्सीको रुपमा काम गरिरहेका छौं । यसैमा सहकार्य गर्ने गरि सम्झौता भएको छ ।’ उनले भने ।
उनले प्लेस्काउटमा बिस्तारै अरु खेलकुदमा फिचर थप्दै जाने पनि उल्लेख गरे ।
शेर्पा आउटडोरको केटीएम सिटीले प्लेस्काउटसँगको सहकार्य फुटसल र इन्डोर खेलको विकास र प्रबद्र्धनमा कोशेढुङ्गा सावित हुने विश्वास लिएको जनाएको छ ।
घरेलु खेलकुदको स्थापित ब्राण्ड केटीएम सिटीले इन्डोर खेलका मुख्य खेल स्थलमा चाँडै केटीएम सिटीका खेल सामाग्रीहरु उपलब्ध हुने समेत जनाएको छ ।
राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक रहेको केटीएम सिटीले विभिन्न खेलसँग सहकार्य गर्दै अघि बढेको छ । केटीएम सिटीले माघ १५ मा १० किलोमिटरको केटीएम रन आयोजना र सञ्चालन गर्दैछ ।