एजेन्सी । जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पाराओलम्पिकमा सहभागी खेलाडीले दैनिक कोरोना भाईरसको (पीसीआर) परिक्षण गर्नु पर्ने भएको छ ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि, पाराओलम्पिक कमिटि र आयोजक कमिटिको बैठकले खेलाडीले दैनिक कोरोना परिक्षण गराउनु पर्ने निर्णय गरेको हो ।
आयोजक कमिटिले प्रतियोगिताको प्लेबुक सार्वजनिक गर्दै खेलाडीले दैनिक कोरोना परिक्षण अनिवार्य रुपमा गर्नु पर्ने जनाईएको छ ।
यस्तै सहभागी खेलाडीले अनिवार्य फेस मास्क लगाउनु पर्नेछ । प्रतिस्पर्धा, प्रशिक्षण, खाने, पिउने र सुत्ने समय बाहेक अन्य समय मास्क लगाउनु पर्ने बताईएको छ ।
खेलाडीले अनिवार्य कोरोना खोप लगाउनु पर्ने छैन । तर, प्रतियोगिताका लागि आएका खेलाडीले ३ दिन क्वारेन्टिन बस्नु पर्नेछ ।
यस पटकको ओलम्पिकमा विदेशी समर्थकलाई प्रवेश निषेध गरिएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै विदेशी समर्थक अनुमति नदिने निर्णय गरेको हो ।
कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।
ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।