काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताले प्रोत्साहन भत्ता पाएका छन् ।
सरकारले मंगलबार स्वर्ण विजेता ५१ जना खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराएको हो ।
सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको ९ महिनापछि खेलाडीको खातामा जम्मा गरेको हो ।
सरकारले एक स्वर्ण बराबर ६ हजार प्रोत्साहन भत्ता उपलब्ध गराएको हो ।
जसमा कीर्तिमानी ४ स्वर्ण जितेकी पौडीकी गौरिका सिंहले २४ हजार प्राप्त गरिन् । दोहोरो स्वर्ण विजेता मन्देकाजी श्रेष्ठ र आयशा शाक्यले १२/१२ हजार प्राप्त गरे ।
'सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । ढिला भएपनि पाएका छौँ । मन्त्रालयलाई धन्यवाद,' प्रोत्साहन भत्ता पाएपछि दोहोरो स्वर्ण विजेता मन्देकाजीले भने ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताले प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता चालु आर्थिक वर्ष २०७७/०७८ यता रोकिएको थियो ।
तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पटक पटक सरकारलाई भत्ता उपलब्ध गराउनका लागि ध्यानाकर्षण गर्दै आएको थियो ।