काठमाडौं । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गर्ने प्रदेश सभा सांसद राजिव गुरुङ 'मनाङ्गे' धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा सोमबार उनी ६ हजार धरौटी बुझाएर रिहा भएका हुन् ।
गण्डकी प्रदेश लिगको सिलसिलामा व्यवस्थापनको पक्षलाई लिएर राजिवले जिल्ला अध्यक्ष मिलनमाथि हातपात गरेका थिए ।
उनले पत्रकार सम्मेलन गरेरै हातपात गरेको सगौरव दाबी गरेपछि जिल्ला अध्यक्ष मिलनको उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनलाई जिल्ला प्रशासन कार्यालयले दुई दिन हिरासतमा राखेर धरौटीमा रिहा गरेको छ । राजिव मनाङ जिल्लाको प्रदेश सभा सांसद समेत हुन् । उनले नेकपाको उम्मेदवारको रुपमा प्रदेश सभा निर्वाचन जितेका थिए ।
हिरासतबाट छुट्दै राजिवले सामान्य बिषयलाई राजनीतिकरण गरिएको आरोप लगाए । उनले घटनाबाट एन्फाभित्रको भ्रष्टचारको बिषय खुलेको उल्लेख गर्दैै फिफाले पठाएको पैसा मिलेर खाने गरेको आरोप लगाएका छन् ।
राजिवविरुद्व उजुरी गर्ने मिलन समेत हिरासतमा छन् । उनलाई समेत प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको छ । मिलनमाथि समेत आर्थिक अनियमितताको धेरै आरोप छन् ।
राजिव भने मनाङको टोली लिएर गण्डकी प्रदेश लिग खेल्न पोखरा आएका थिए । तर लिग खेल्न आएको टोलीको व्यवस्थापनमा आयोजकले वेवास्ता गरेको भन्दै राजिवले जिल्ला फुटबल संघका अध्यक्षमाथि कुटपिट गरेका थिए ।