जब ज्वालामुखी भित्रका लाभाले विद्रोह गर्छन् तब विष्फोट भएर विनाश निम्त्याउँछ । त्यसको उदाहरण पछिल्लो समय नेपाली फुटबल खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको स्टन्टविरुद्ध गरेको विद्रोह पनि एक हो ।
त्यसो त विद्रोहबाट सकारात्मक र नकारात्मक दुवै सन्देश प्रवाह हुन्छ । त्यसपछि निस्कने अवसर र चुनौतीको सामनाका लागि प्रशिक्षक अल्मुताइरी, एन्फा नेतृत्व र खेलाडी तयार हुनुपर्छ ।
नेपालको परिवेशमा फुटबलरलाई दिइने सुविधा निक्कै निम्न स्तरको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा आवद्ध देश भुटान र प्रतिबन्धको सिकार भोगिरहेको पाकिस्तानले एएफसी र फिफाको प्रतियोगितामा प्रति खेलाडी एक सय डलर भत्ता दिँदै गर्दा नेपालका खेलाडीले ३५ डलरमा चित्त बुझाउनुपर्छ । विद्रोहको कारण होटलमा बस्न पाउनुपर्ने माग देखिन्छ । त्यसभित्रका अनेक पाटो पनि छदैछन् ।
एएफसी कप २०२३ को छनौट तयारीमा रहेको खेलाडी होस्टलको सुविधा राम्रो नभएपछि होटलमा राख्नुपर्ने माग थियो । होस्टलको सुविधा सुधार गर्ने भए बस्न खेलाडी एकमत थिए । प्रशिक्षणमा रहेका खेलाडीको नेतृत्व उपकप्तान रोहित चन्दले लिएका थिए । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितीमा उप कप्तानको रुपमा रोहितले खेलाडीको नेतृत्व गरेका थिए । रोहितले नेतृत्व गरेको आन्दोलनलाई सुरुवातमा साथ दिने केही खेलाडी उनको साथ छाडेर होस्टलमै छन् । रोहित एन्ड टिमको होटलमा बस्नुपर्ने मागलाई लिएर प्रशिक्षक अल्मुताइरीले रोहितलाई घर फर्काइदिए । त्यसो त रोहित आफै चोटबाट गुज्रिरहेका छन् ।
अल्मुताइरीको प्रवेशसंगै एकपछि अर्को विवादको श्रृङखलाबाट नेपाली फुटबल गुज्रिरहेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको काधमा चढेर नेपाली फुटबलमा नैतिक दोहन गरेको आरोप बारम्बार उनीमाथि लाग्दै आएको छ । फुटबल प्रशंसकको सेन्टिमेन्टलाई लिएर अनावश्यक बखेडा निकाल्न उनी माहिर मानिन्छन् ।
अल्मुताइरीको प्रवेशले नेपाली फुटबलमा केही सकारात्मक परिर्वतन देखिए । युवा खेलाडीलाई अवसर र डिफेन्सिभ नेपाली फुटबलको खेल्ने शैली एट्याक्ङिमा प्रवेश गर्यो । त्यसले नेपाली फुटबलको नतिजालाई सुधार गरेपनि फिफा वरियतालाई भने खासै सुधार गरेको पाइदैन ।
अल्मुताइरीको स्टन्टले एन्फाका पुर्व अध्यक्ष गणेश थापाको झ–झल्को दिन्छ । दुई दशक नेपाली फुटबलमा एकात्मक शासन गरेका थापा अन्तत प्रतिबन्धमा परे । काठमाण्डौ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितको बलमा एन्फा अध्यक्ष भएका थापाले २०५२–२०७२ सम्म हरेक निर्वाचनमा आफैलाई अध्यक्ष बनाइरहन सफल भए ।
अल्मुताइरी समेत थापाराजको पथमा अग्रसर छन् । गणेश थापाले नेतृत्वको टिममा रहेका कर्माछिरिङ सहितका पदाधिकारीको विद्रोहले नेपाली फुटबलमा दुई दशकको थापा शासन समाप्त बन्यो । थापाको एकतन्त्रीय शासन लागु गरेपनि खेलाडीहरु उनको विरुद्धमा देखिएनन् । थापाकालमै नेपाली टोलीबाट खेलेका पुर्व राष्ट्रिय खेलाडी सेवा सुविधाको बारेमा सन्तुष्टनै रहेको प्रतिक्रिया दिन्छन् । तर कर्माछिरिङको पहलमा नेपाली फुटबलमा भित्रिएका अल्मुताइरीका कारण सेवा सुविधाको बहस एन्फा नेतृत्व चयनको मुखमा ‘हटकेक’ बन्दैछ ।
थापाकालमै उनको टिममा रहेको एक जना विश्वासपात्रले एक बर्ष अघिको भेटमा गणेश थापालाई यसरी सम्झिए ‘गणेश थापा बोल्न थालेपछि सवैले उहाँको कुरामा समर्थन जनाउनुप¥थ्यो । उहाँको एजेन्डा नै अन्तिम हुन्थ्यो । पुर्व राष्ट्रिय कप्तान भएको हिसाबले विपक्षी टोलीविरुद्ध खेल्ने सेट आफै तयार गर्नुहुन्थ्यो । नतिजा पनि सन्तोषजनक नै हुन्थ्यो । तर उहाँको एकतन्त्रीय शासनबाट आजित भएर हामीले विद्रोह गरेका थियौ ।’
अहिले थापाविरुद्ध विद्रोह गरेर कर्माछिरिङलाई सघाएका ती पात्र उनको पक्षमा छैनन् । कर्माकै पक्षमा रहेर ‘चेन्ज एन्फा’ चलाएका धेरैले उनको साथ छाडे ।
त्यसमध्येका एउटा कारक अल्मुताइरी समेत हुन् । बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङविरुद्ध लगाएको आरोपलाई अल्मुताइरीले पुष्टि गराउन सकेनन् । अन्तत असहयोग भएको घुर्की लगाइरहे । समर्थकको सेन्टिमेन्ट माथि खेल्दै आएका उनलाई मनाएर ल्याउन कर्माछिरिङलाई कर नै लाग्यो । गत बैशाख ३ गते शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा उनी बढि हाबी भए । पत्रकार सम्मेलन अघिनै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न उर्दी जारी गरेका थिए ।
पत्रकारिताको मर्यादामा रहेर सार्वजनिक चासोको विषयमा प्रश्न गर्ने अधिकार पत्रकारसँग रहन्छ । तर, पत्रकार सम्मेलन सुरु हुन अघिनै निश्चित विषयमा प्रश्न गर्न रोक लगाउने सान्दर्भिक देखिदैन । पत्रकारको प्रश्न अघिनै खेलाडीलाई बाहिर पठाउनुले उनी नेपाली फुटबल कसरी हाबी भइरहेका छन् भन्ने प्रष्ट हुन्छ । समर्थकको भावनालाई हतियार बनाएर कर्माछिरिङको काध चढेका उनको सिकार खेलाडी बने ।
सधै एन्फाको व्यवहारमा मुकदर्शक बनेका खेलाडीहरुले यस बर्ष धैर्यताको बाधलाई तोडेर विद्रोहमा उत्रिए । क्याम्पमा रहेको राष्ट्रिय टोलीका खेलाडीको विद्रोहले नेपाली फुटबलको बहसमा नयाँ शिराको विकास गरेको छ । अभावका बिच खेलिरहेको खेलाडी अनावश्यक दबाबलाई लुकाएर राख्न नसक्नु शसक्त विद्रोह हो । त्यसो त खेलाडीहरुले माग गरेको होटलको सुविधा अपेक्षा अनुरुपकै हुन्छ भन्ने चाहि छैन ।
खेलाडीलाई होटलमा दिइएको सुविधालाई उल्लेख गर्दा नेपाली फुटबलको वास्तविक अनुहार देखिन्छ । नायज्दा कपको लागि क्लोज क्याम्पमा रहेको राष्ट्रिय महिला राष्ट्रिय टोलीका खेलाडीलाई ज्ञानेश्वरमा राखिएको होटलमा दिइएको खाना तल्लो स्तरको थियो ।
काँचो साग र विहान बेलुका दिइने झोलमा डुवाइएको अन्डासंग निक्कै सकसपुर्ण रुपमा खेलाडीले भोजन गरेको देख्दा नेपाली फुटबलमा दिइने सुविधाको बारेमा सहजै अनुमान गर्न सकिन्छ । नाज्यदा कपको लागि किर्गिस्तान उड्नु अघिल्लो रात केही खेलाडीले होटल बाहिरै खाना खाएर आएका थिए ।
एन्फा र प्रशिक्षक अल्मुताइरीको आलोचना गर्दैै गर्दा खेलाडीहरु शतप्रतिशत सहि छन् भनेर भन्ने अवस्था पनि छैन । राष्ट्रिय टोलीको करियरको अन्त्य तिर रहेका रोहित लगायतका केही खेलाडी आफै शारिरिक रुपमा इन्जुरीसंग जुधिरहेका छन् । देशका धेरै जसो टोलेकपमा राष्ट्रिय टोलीका खेलाडीहरु सहभागि हुन्छन् भन्ने तथ्य लुकाएर लुक्दैन । अर्को तर्फ ४८ घण्टा आरामपछि खेलमा सहभागिता जनाउनुपर्ने फिफाको नियमलाई समेत खेलाडी आफैले नमान्दा इन्जुरीसंग जुध्दैछन् । आफ्नो फिटनेस र स्तरियता बुझ्न नसक्दा खेलाडीहरु इन्जुरीको सिकार भइरहेको तथ्य हो । स्तरिय सुविधा खोज्ने खेलाडीले आफ्नै स्तरियता कायम गर्ने कहिले ?
होटल प्रकरणलाई ‘फेस सेभिङ’को रुपमा देखाएर खेलाडीहरु अल्मुताइरीको बहिर्गमन चाहिरहेका छन् । अन्यलाई होस्टलमा राखेर मोफसलबाट आएका खेलाडीहरुलाई होटल भिभान्तामा राखिएकोमा अप्रत्यक्ष असन्तुष्टी समेत हुन सक्छ, खेलाडीको विद्रोह । खेलाडीहरुको विद्रोह समयमा नै समाधान नगरे कर्माछिरिङ एन्ड टिम चाँडै थापाराजको पथमा जान सक्ने सम्भावना त छर्दैछ । नेपाली फुटबल समेत पाकिस्तानको जस्तै प्रतिबन्ध नभोग्ला भन्न सकिन्न् । पछिल्लो समय अल्मुताइरी आफुलाई हिटलर घोषणा गराउन खोज्दैछन् ।
(खेल पत्रकार नमिन ढकालकोको यो नीजि विचार हो ।)