काठमाडौं । नेपाली महिला टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा बुधबार लगातार तेश्रो पटक पराजित भएको छ । भारतले नेपाललाई ३–० ले हरायो ।
नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइहरेको प्रतियोगिताको सिंगल्समा प्राची मलिकले प्राज्ना मानन्धरलाई ६–० र ६–२ तथा आहनले शिभाली गुरुङलाई ६–० र ६–० को सोझो सेटमा हराए । डबल्समा प्राची र अनन्दिता उपाध्यायको जोडीले शिभाली र कर्मिस्था नुगाह श्रेष्ठको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा पन्छाए ।
गर्ल्समा यसअघि नेपाल माल्दिभ्ससंग २–१ तथा श्रीलंकासंग ३–० ले चुकेको थियो । दुई खेल गुमाएको ब्वाइजमा नेपाल श्रीलंका र पाकिस्तानसंग ३–० ले पराजित भएको । बुधबार ब्वाइजमा नेपालको खेल थिएन ।
गर्ल्सको अन्य प्रतिस्पर्धामा माल्दिभ्सले बंगलादेश तथा श्रीलंकाले भुटानलाई समान ३–० को नतिजामा पन्छाए । ब्वाइजमा पाकिस्तानले श्रीलंका, भारतले माल्दिभ्स तथा बंगलादेशले भुटानमाथि समान ३–० को जित निकाले ।