काठमाडौं । शनिबार पोखरा रंगशालाको ट्रयाक सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा स्वर्ण जितिन् । चोटबाट गुज्रिरहेकी सन्तोषीलाई मध्यम दुरीको यस स्पर्धामा स्वर्णका लागि खासै चुनौती सामना गर्न परेन । थोरै चुनौती राजपुरा पछाईले दिईन् । तर अन्तिम ल्याबमा सन्तोषीले राजपुरालाई निकै पछि छाड्नि । अर्की प्रतिस्पर्धी पुष्पा भण्डारी यसपटक सन्तोषीको नजिक पनि आउन सकिनन् ।
नेपालको ट्रयाक एण्ड फिल्डको प्रर्दशन र नतिजा धेरै हदसम्म विभागीय टिममा निर्भर छ । विभागीय टिमलेनै यसलाई बचाएर राखेका छन् । सम्बन्धित संघको गतिविधि शुन्यप्राय रहेको अवस्थामा जति खेलाडी टिकेका छन्, ती विभागले टिकाएका छन् । अझ पब्लिक खेलाडी एथलेटिक्सको शीर्ष स्थानमा रहन असम्भव प्राय देखिन्छ । तर सन्तोषी अपवाद पात्र हुन् ।
‘रेकर्ड राख्नका लागि कुदेकै थिईन । राष्ट्रिय कीर्तिमान बनाउन सक्ने अवस्था थियो । थोरै जोड गरेको भए हुन्थ्यो पनि । तर खुट्टाले कुनैपनि बेला दुख दिन सक्ने अवस्था थियो ।’ बागमती प्रदेशका लागि एथलेटिक्सबाट पहिलो स्वर्ण जितेकी सन्तोषीले भनिन्, ‘लामो अभ्यास थिएन । अरुको पेस भन्द आफ्नो अवस्था जाँच गर्दै कुँदेको थिए ।’
सन्तोषीले पछिल्लो पटक १३ औं दक्षिण एसियाली खेलकुद सागमा १० हजार मिटरमा दौडिएकी थिईन् । सागकी स्वर्ण पदक विजेता खेलाडी पहिलो पटक सोही स्पर्धामा पोखरा रंगशालामा उत्रिएकी थिईन् । यसबीचमा घरेलु एथलेटिक्समा १० हजार मिटरको कुनै प्रतियोगिता पनि भएन । त्यसका लागि खेलाडीले राष्ट्रिय प्रतियोगितानै कुर्न पर्यो ।
चोटका कारण सन्तोषीले एथलेटिक्स करियर संघर्षमय छ । तर चाहिएको समय उनीबाट स्वर्ण निस्किरहेको भने छ । नेपालमा हुने अधिकांश मध्यम दुरीका दौडमा उनको दबदबा छ ।
‘प्रशिक्षक, अभिभावकले सक्छौ भनेर प्रेरणा दिईराख्नुभएको थियो । स्वभाव इनोसेन्ट भएपनि ट्रयाकमा उत्रिएपछि फरक देखिन्छु । पब्लिक खेलाडी भएर सबै कुरा म्यानेज गरेर कुँदिरहेको छु ।’ उनले भनिन् ।
सन्तोषीका अनुसार काठमाडौंमा भएको प्रोटिन म्याराथन बाहेक अधिकाश प्रतियोगितामा उनको सहभागीता चोटकै बिच गुज्रिएका छन् । त्यो साग खेलकुद होस् वा अन्य ठुला खेल स्पर्धा । तर जहाँ सन्तोषी उत्रिएकी छिन्, आफुलाई अब्बल सावित गरेकी छिन् । उनी अहिले नेपाली एथलेटिक्सको मध्यम दुरीको स्पर्धाकी ट्रयाक ‘क्विन’ हुन् ।
‘मेडल मात्र लक्ष्य थियो । त्यो पुरा भएको छ । अब ५ हजार मिटर दौडमा राम्रो गर्छु । आफ्नो रेकर्ड सुधार गर्छु ।’ उनले भनिन् ।